नैरोबी : केन्याको नैरोबीस्थित एक विलाशी होटलमा २१ जनाको ज्यान जाने गरी भएको हमलामा ५० जना अझै हराइरहेका छन् ।

घटनास्थलबाट ७ सय जनाको उद्धार गरिए पनि अरु ५० जना हराएको भोलिपल्ट मात्रै जानकारीमा आएको हो । यस्तै प्रारम्भिक अवस्थामा १४ जना मारिएको बताइएको थियो ।

सुरक्षाकर्मी तैनाथ भएपछि घटनाबारे थप खोजी गर्दा ५० जना हराएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हतियारधारी अतिवादी समूह अलक्वायदा सम्बद्ध अल शबाबले घटनाको जिम्मेवारी लिएको छ ।

मारिएकामध्ये १६ जना केन्याका नागरिक, एकजना बेलायती, एक अमेरिकी र तीनजना अफ्रिकी मूलका थिए । तर अफ्रिकी मूलका तीनको राष्ट्रियता पहिचान भइनसकेको प्रहरीको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । अल शबाब समूहले यसअघि पनि केन्यामा यो भन्दा ठूलो हमला गरेको थियो ।

फाेटाे : एजेन्सीबाट