धनकुटा:धनकुटाको नाम्जेमा आयोजीत प्रथम माघे संक्राती महोत्सवको अवसर पारेर आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगीताको उपाधी इटहरीको प्रगति सेवा समाज क्लबले हात पारेको छ ।

इटहरीले धरान १६ लाई ३–१ को सेटले पराजित गर्दै नगद ४० हजार एक सय सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । पहिलो सेटमा इटहरीले धरानलाई २५–२०, दोस्रो सेटमा धरानले २५–२२, तेस्रो सेटमा इटहरीले २७–२५, र चौथो सेटमा इटहरीले नै २५–२३ ले हराउँदै जित निश्चित गरेको हो । नवज्योती युवा क्लबको आयोजनामा नाम्जेमा भएको उक्त प्रतियोगीतामा विभिन्न ठाउँका गरि १२ वटा टीमको सहभागीता रहेको थियो ।

खेल संयोजक मदन कुमार थापाका अनुसार उपविजेता हुने टीमले नगद बीस हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । नाम्जेमा प्रथम पटक महोत्सवको अवसर पारेर भलिबल प्रतियोगीताको समेत आयोजना गरिएको थियो । भलिबलको उपाधी हाँसिल गरेपछि प्रगति सेवा समाज क्लबका अध्यक्ष बिक्रम थापाले भने, ‘यो ठाउँमा पर्यटनसँगै खेल क्षेत्रलाई पनि अगाडि बढाउने हो भने निकै राम्रो हुनेथियो ।’ पर्यटन सँगै खेलकुदलाई पनि प्राथमिकता दिदाँ खेलाडीलाई प्रोत्साहन हुने उनले बताए ।