धरान: सार्वजनिक यातायातमा यात्रा गर्नेहरुले यातायात मजदुरहरुको बोली, व्यवहार तथा आचरणबारे सकरात्मक धारणा बनाएको पाइदैन । उनीहरुको पहिरन, गेटअपदेखि बोली तथा स्वभाव यात्रुमैत्री हुदैनन् । कतिपयले त यात्रुहरुलाई दुव्र्यवहार पनि गरेका घटनाहरु छन् ।

तर, सबै यातायात मजदुरको हकमा यो कुरा लागु हुदैन । सबै फटाहा वा बेइमान पनि हुदैनन् । यही कुरा पुष्टि गरेको छन्, १८ बर्षीय कण्डक्टर भुवन श्रेष्ठले । उनी आफ्नै ठुलो बुबा रुद्र श्रेष्ठको को १ ख २७४८ नम्बरको जय माँ सन्तोषी बसमा कण्डक्टरकोरुपमा कार्यरत छन् । करिब एक बर्षदेखि कार्यरत उनले हिजो बुधबार विर्तामोडबाट धरान आउदै गर्दा गाडीमा एउटा लेडिज ब्याग भेटे । अरु यात्रुलाई सोध्दा पनि कसैले आफ्नो नभनेपछि त्यो ब्याग जस्ताको तस्तै उनले राखेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका धरान कार्यसमिति सदस्य पनि रहेका ठुलो बालाई उनले त्यो ब्याग बुझाए । ब्यागभित्र के छ भनेर पनि उनीहरुले हेरेनन् ।

उक्त ब्याग संगठनको धरान उपमहानगर कमिटिमार्फतबाट आज बिहिबार पाँचथरकी रिका कन्दङ्वालाई फिर्ता गरिएको छ । होटल सन्ध्या इनमा संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वाला र ब्याग भेट्ने भुवनले संयुक्तरुपमा सामानहरुसहित कन्दङ्वालाई हस्तान्तरण गरिएको थियो । इमान्दारिताका साथ ब्याग फिर्ता गर्ने श्रेष्ठलाई सम्मान पनि गरियो । ब्यागधनी कन्दङ्वा पाँचथरबाट विर्तामोड हुदै दुधेस्थित आफ्नो विरामी तुम्बा भेट्न आउदै गर्दा ब्याग बसभित्रै छोडेकी थिइन् । ‘बच्चासँग आएकी थिए, गाडीबाट झर्नेबेला ध्यान बच्चामा मात्र गएछ, ब्याग गाडीमै छोडेछु,’उनले भनिन्,‘ब्याग यसरी पाउछु भन्ने नै थिएन, आज फिर्ता पाए । सबैलाई धेरै धेरै धन्यवाद छ ।’

IMG_20190117_172029 copy

कण्डक्टर श्रेष्ठका अनुसार सिटमा ब्याग भएपनि मान्छे थिएनन् । अरु यात्रुलाई सोध्दा पनि कसैले आफ्नो नभनेपछि ब्याग सुरक्षित राखेर ठुलो बालाई बुझाएका थिए । ‘ब्याग एक पटक खोलेर हेरे, सुन देखेपछि जस्ताको तस्तै राखेर ठुलो बालाई दिए,’उनले भने,‘मलाई ठुलो बाले नै यात्रुसँग राम्रो कुरा गर्नु, केही सामान भेटे नलुकाउनु भनेर सम्झाउनु भएको थियो । त्यसैले सुरक्षितसँग ब्याग राख्यौ ।’ ब्याग भित्र नगद ५ हजार थियो । यस्तै, करिब २ तोला बराबरको सुनको जन्तर, कानको झुम्का, दश तोला बराबर चादीको चुरा पनि थियो । यसको मुल्य झण्डै २ लाख बराबर हुन्छ ।

दुधेमा झर्दा आफ्नो ब्याग गाडीमा छोडेकी रिकालाई गाडी नम्बर थाह थिएन । तर, गाडीको नाम थाह थियो । उनले आफ्नो काकालाई भनिन् । आफ्नो काकामार्फत संगठनका नेताहरुसम्म ब्याग हराएको खबर पुग्यो । मजदुर नेताहरुले गाडी खोज्दौ जादा ब्याग सुरक्षित भेट्यो । ‘ब्याग भित्र के छ भनेर उहाँहरुले हेर्नुपनि भएको थिएन, प्रहरीलाई बुझाउने भन्दाभन्दै ब्याग धनी सम्पर्कमा आइपुग्नुभयो,’मजदुर नेता लक्ष्मी बाँनियाले भने,‘हिजो हराएको ब्याग आजै बुझाउन सफल भयौ ।’

IMG_20190117_171913 copy

संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालाले भुवनको इमान्दारिताले यातायात मजदुरहरुले दुःख मात्र दिन्छन्, ठगी मात्र गर्छन् भन्ने आमधारणालाई परिवर्तन गर्न मद्दत पुग्ने बताए । ‘यातायात मजदुरहरु इमान्दार पनि हुन्छन् भन्ने उदाहरण भुवन श्रेष्ठ भएका छन्, उनको यो इमान्दारिताले साढे १० लाख मजदुरहरुको शिर ठाडो भएको छ,’उनले भने,‘हामी यातायात मजदुहरु इमान्दार, जिम्मेवार पनि छौ ।’ डिएसपी सुमन तिम्सिनाले गाडीमा भेटिएको समान इमान्दारितापुर्वक फिर्ता गर्दा यातायात मजदुरहरु पुरस्कृत हुने भएकोले नकुलाउन आग्रह गरे । साथै उनले भुवनले इमान्दारिता प्रर्दशन गरेको भन्दै प्रसंसा पनि गरे । संगठनका धरान अध्यक्ष कमल भटराईले यात्रुको हराएको सामानहरु अन्य यात्रुले पनि लगेको हुनसक्ने भएपनि मजदुर माथि आरोप आउने भएकोले सबै पक्ष सर्तक र सजग हुनुपर्ने बताए ।

IMG_20190117_172119 copy