सङ्खुवासभा : सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको धार्मिक पर्यटीयस्थल मनकामनाको छेउमा बहने अरुण नदीमा पहिलो पटक गत शुक्रबारदेखि जलयात्रा शुरु गरिएको छ ।

सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा सङ्खुवासभाको अरुण उपत्यका र बालेश्वर समेतलाई राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी जलयात्रा सञ्चालन गरिएको अरुण मकालु रिभर साइडका सञ्चालक राजकुमार घिमिरेले जानकारी दिए ।
अरुण नदीमा जलायात्राका माध्यमबाट पर्यटक आकर्षित गर्न अहिले विभिन्न स्थानमा जलयात्रा सञ्चालन भइरहेको सञ्चालक घिमिरेले बताए । गत वर्ष खाँदबारी–२ चेवाबँसीदेखि सुनसरीको चतरासम्म पहिलोपटक परीक्षणका रूपमा जलयात्रा शुरु गरिएको थियो । सफल परीक्षणपश्चात् निरन्तर जलयात्रा सञ्चालन भइरहेको उहाँले बताए ।
खाँदबारी–२ को चेवाबेँसी, धनकुटाको लेगुवा र छिन्ताङमा भेटिएका ढुङ्गालाई व्यवस्थापन गर्न सके तुम्लिङटारदेखि धरान तीन घण्टामै पुग्न सकिने घिमिरेले बताए । उनले सरोकारवाला निकायले ध्यान दिन सके पर्यटन प्रवद्र्धनका लागि मात्र नभई जल यातायातमा समेत टेवा पुग्ने धारणा राखे । जलमार्गमा भएको अवरोध हटाउन सके सप्तकोशी चतरामा चल्ने जेटबोट र पानीजहाज सञ्चालनमा ल्याउन सकिने स्थानीयको भनाइ छ ।
जलयात्रा सेवा सञ्चालनमा आएसँगै भोजपुर, सङ्खुवासभा, सुनसरीलगायतका जिल्लाका जनतालाई यात्रामा सहज हुने देखिएको छ ।