धरान: छैठौं संस्करणको ‘यूनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता अन्तर्गत विहीबार छात्रको खेलमा ज्ञान दर्पण, पूर्व क्षेत्रिय प्रहरी, पूर्वाञ्चल बोडिङ, पिसजोन र हाम्रो बोडिङ स्कुल विजयी बनेको छ । त्यसैगरी, छात्रातर्फ हाम्रो बोडिङ, पूर्व क्षेत्रीय प्रहरी, पिसजोन, डिपोर्ट मावि र समिट स्कुल विजयी बनेका छन् ।

धरान–१५ स्थित विद्यालयको भलिबल कोर्टमा भएको खेलमा ज्ञान दर्पर्ण तरहराले नमुना एकेडेमी तरहरालाई ३–० को सोझो सेटमा हराउदा पूर्व क्षेत्रीय प्रहरीले लर्ड बुद्ध एकेडेमीलाई २–१ को सेटले हराएको थियो । त्यस्तै, पूर्वाञ्चल बोडिङले तरहरा मोडललाई ३–० को सोझो सेटमा हराउदा पिसजोन इटहरीले यूनिक एकेडेमीलाई २–१ को सेटले हराउन सफल भएको थियो । त्यसैगरी, हाम्रो बोडिङले सक्रेटहार्टलाई २–१ को सेटले हराएको विद्यालयका शिक्षक कर्मा शेर्पाले बताए । उनका अनुसार छात्रातर्फ हाम्रो बोडिङले यूजिए ‘बी’लाई ३–० को सोझो सेटमा, पूर्व क्षेत्रीयले कार्मेललाई ३–० को सोझो सेटमा हराएको थियो । त्यसैगरी, पिसजोनले पूर्व क्षेत्रीयलाई ३–० को सोझो सेटमा हराउदा डिपोटले तरहरा मोडेललाई २–१ को सेटमा हराएको थियो । समिटले यूजिए ‘ए’ लाई ३–० को सोझो सेटमा हराएको थियो ।

प्रतियोगितामा जिल्लाभरीका संस्थागत विद्यालयका छात्र १६ र छात्रा १४ गरी जम्मा ३० टिम सहभागी बनेको विद्यालयका सहायक प्रअ तथा खेल संयोजक सन्तोष पोख्रेलले बताए । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । त्यसैगरी, दोस्रो र तेस्रो बन्नेले क्रमसः १२ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी, व्याक्तिगत पुरस्कार समेत वितरण गरिने स्कुलले जनाएको छ । प्रतियोगिता फाइनल खेल आउदो माघ ५ गते हुने विद्यालयले जनाएको छ ।