इलाम : इलामका मेची राजमार्गअन्तर्गत विभिन्न सडकखण्डमा सवारी दुर्घटनाको चाप बढेसँगै प्रहरीले सवारीसाधनको जाँचलाई तीव्रता दिएको छ ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय इलामको अग्रसरतामा ‘दुर्घटना घटाऔँ मान्छे बचाऔ भन्ने नाराका साथ सवारी साधनका चालकको स्वास्थ्य जाँच अभियान चलाइएको छ । अभियानअन्तर्गत बिहीबार सूर्याेदय नगरपालिकामा स्वास्थ्यकर्मी, जिल्ला यातायात व्यवस्था कार्यालयका प्राविधिकसहितको टोलीले ५१ वटा सवारीसाधनका चालकको स्वास्थ्य र सवारीको अवस्था जाँच गरेको थियो ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण र अवैध रूपमा सञ्चालनमा रहेका सवारी नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पदम राईले बताए । टोलीले सवारी चालकको स्वास्थ्य परीक्षण गर्नुका साथै सवारी साधनको पनि जाँच गरेको थियो ।

स्वास्थ्य परीक्षणमा रक्तचाप, आँखा परीक्षण गरिएको थियो । सवारीको जाँचको क्रममा गाडीको चेसिस इन्जिन, बिलबुक र लाइसेन्स परीक्षण गरिएको थियो । समयसमयमा चालक र सवारीको जाँच अभियानले दुर्घटना न्यूनीकरणमा सहयोग हुने सवारी चालक अनिस याक्खाले बताए ।

इलाम अस्पतालको सहयोगमा गत पुस २९ गते पनि इलाम सदरमुकाममा ६२ वटा सवारी साधनको जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।