इटहरी: श्रमिक महिला साझा मञ्च नेपालको पाँचौ स्थापना दिवसको अवसरमा इटहरीको बसपार्कमा कोष संकलन कार्यक्रम गरिएको छ ।

उक्त एक दिने कोष संकलन कार्यक्रममा सेलरोटी, चना, आलु फ्राई, कफीलगायतका परिकारहरु बिक्री गरिएको थियो । कार्यक्रममा चेलिबेटीहरु कसरी हिंसामा पर्न सक्छन् भन्ने विषयमा जानकारी गराउनको साथै पर्चासमेत वितरण गरिएको थियो । श्रमिक महिला साझा मञ्चले विभिन्न हिंसा साथै मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरी तथा महिला जोखिममा परेकाहरुलाई उद्दार गरी उनीहरुको रुचि अनुसारको आत्मनिर्भरता तालिम लगायतका कार्यक्रम संचालन गर्न सहयोग पुगोस भनेर एक दिने खाजा पसलको आयोजना गरेको सस्थाकी कार्यकारी निर्देशक लिला भुजेलले बताईन् ।

आफ्नो संस्थाको वार्षिकउत्सव मनाउनको लागि संस्थाका प्रतिनिधिहरु ममता राई, पार्वती लिम्वु, रिमा भुजेल, संगीता चौधरी लगायतले एकदमै उत्साहका साथमा परिकारहरु बनाएर विक्री वितरण गरेका थिए । त्यसै गरी प्रोत्साहन नेपालकी अध्यक्ष योसा गुरागाई, सामाजिक अभियन्ता विमला ढकाललगायतले महिला तथा किशोरीहरुको उद्दारका लागि चन्दा माग्नु भन्दा ब्यवसाय गरेर रकम संकलन गर्नु नै उदाहरणिय काम भएको भन्दै सफलताको शुभकामना दिएका थिए ।