धरान: अवैधरुपमा धरानको वडा नं ५ स्थित अधेरी खोलामा ढुङ्गा गिट्टी उत्खनन् गर्ने सोही वडाका अध्यक्ष सन्तोष लिम्बूको जेसिबि पक्राउ गरी वन कार्यालय बुझाएको इलाका प्रहरी कायालय धरानले जनाएको छ ।

आज बिहान करिब साढे ७ बजे खोलामा जेसिबिले अनाधिकृत रुपमा गिट्टी वालुवा निकालिरहेको सुचना पाएपछि गएको प्रहरी टोलीले एउटा जेसिबि पक्राउ गरेको थियो । को १ ख २४३४ नम्बरको उक्त जेसिबिले अनाधिकृत रुपमा गिट्टी वालुवा खनेर निकाली रहेकोले नियन्त्रणमा लिएको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिन खोज्दा चालक भनेर फरार भएको थियो । प्रहरीले उक्त जेसिबि आवश्यक कार्वाहीको लागि बिष्णुपादुका सब डिभिजन वन कार्यालय तिनकुनेमा बुझाएको जनाएको छ ।

अधेरी खोला चुरे क्षेत्रअन्र्तगत पर्ने खोला हो । त्यसैले त्यहाँबाट नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिबन्ध छ । यो खोलाबाट नदीजन्य पदार्थ झिक्न विगत र अहिले पनि स्थानीय तहले ठेक्का लगाउन पाउदैन । तर, लामो समयदेखि वडाअध्यक्ष लिम्बूको मिलेमतोमा अवैधरुपमा ढुंगा, गिट्टी उत्खनन् र तस्करी हुदै आएको आरोप लाग्ने गरेको छ । उता, वडा अध्यक्ष लिम्बूले भने उक्त जेसिबि आफ्नो भएपनि अवैध उत्खनन नभई वडाकै विकासको लागि काम गर्दा प्रहरीले जर्बजस्ती समातेर लगेको बताए ।

उनका अनुसार विभिन्न ४ ठाउँमा तारजाली लगाएको र त्यसको विल भुक्तानीको लागि अनुगमन गरिदा जाली मुनि नछोपि नहुने भएकोले जेसिबि लगेर छोप्न जादा प्रहरीले पक्राउ गरेको थियो । 'एउटा खोलामा थियो, त्यसलाई चै पक्राउ नगरी बाटोमा जादै गरेको जेसिबि समातेर लग्यो,'उनले भने,'मैले खोलाको ढुंगा, बालुवा झिक्न त नैतिकताले पनि दिदैन । यो वडाकै विकासको कामको लागि थियो ।' उनले मोरंगको केराबारी क्षेत्रबाट ठेक्का लागेको ढुंगागिटी र बालुवा किनेर ल्याउदा पनि तस्करी गरेको भन्ने आरोप आएको बताए ।

अध्यक्षले अन्य ४ वटा ट्याक्टर पनि प्रहरी पक्राउ गरेको तर त्यसलाई वनमा कारबाहीको लागि नपठाएको आरोप लगाए । डिएसपी तिम्सिनाले भने विगतमा यस्ता ट्याक्टर समातिदा जिविसमा पठाउने गरेकोमा अहिले स्थानीय तहमा पठाउने भएकोले धरान उपमहानगरपालिकामा पठाएको प्रष्ट्याए ।