धरान: धरानको चर्चित फुटबल प्रतियोगिता हो, गोधुली रनिङ कप । जसको १८ औं सँस्करणको फाइनल खेल शनिबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुदैछ ।

यसपाली फाइनलमा साविक विजेता तथा आयोजकको टिम वडा नं १७ र तीन पटकको विजेता वडा नं ११ भिड्दैछ । वडा नं १७ लाई घरेलु मैदानमा उपाधि जोगाउने चुनौती छ भने वडा ११ चौथो पटक उपाधि उचाल्ने दाउमा छ । तर, दुवैलाई यो लक्ष्य चुम्न त्यति सहज भने छैन । वडा ११ गोधुलीको पहिलो, चौथो र १३ औं सँस्करण विजेता हो । चौथो पटक उपाधि उचाल्ने लक्ष्य लिएको वडा ११ लाई जारी प्रतियोगितामा एउटा पनि गोल नखाएको तर विपक्षीको पोष्टमा २० गोल गरेको वडा १७ कठिन प्रतिस्पर्धी हो ।

IMG_20190118_150553 copy

वडा १३ का मेनेजर राजेश मास्के भने आफ्ना खेलाडीहरु फिट भएकोले फाइनलमा उपाधि जित्ने उच्च मनोवलका साथ मैदानमा उत्रने बताउँछन् । ‘हामी ३ पटकको विजेता हौ, यसपाली खेलाडीहरु पनि सबै फिट छन् । चौथो पटक उपाधि जित्छौ,’उनले भने । वडा ११ सँग कप्तान सुगम श्रेष्ठ छन्, जो उमेर समुहमा यु १३, १४ र १५ को राष्ट्रिय टोलीबाट अन्र्र्तराष्ट्रिय प्रतियोगिताहरुको अनुभव बटुलीसकेका छन् । यस्तै, यु १८ खेलिसकेका रिवस मास्के, एन्फाका उत्पादन प्रविण तामाङ, धिरेन लिम्बू पनि भरपर्दा खेलाडी हुन् ।

वडा १३ को स्ट्राइकर रिवस मास्के हुनेछन् भने विङ्ग्समा निरज राई र शंकर तामाङ, मिड फिल्डमा धिरेन लिम्बू, आमोद राई, प्रज्वल राई हुनेछन् । यस्तै, डिफेन्समा विकु नेपे, सुगम श्रेष्ठ, प्रविण तामाङ, राम तामाङले सम्हाल्नेछन् । ‘हामी डिफेन्सिभ पनि र अट्याकिङ पनि खेल्छौ,’कप्तान श्रेष्ठले भने ।

IMG_20190118_150455 copy

प्रतियोगितामा लयमा रहेको आयोजक वडा १७ पनि उपाधि जोगाउनेमा ढुक्क छ । बिहिबार सेमीफाइनल खेलेको आयोजकका खेलाडीहरुले शुक्रबार आराम गरेको थियो । ‘हाम्रो टिममा सिनियर र जुनियरको राम्रो तालमेल छ, अनुभवी राष्ट्रिय खेलाडीहरु पनि छन्, त्यसैले हामी जित्छौ,’कोच योगेन राईले भने,‘एक गोल पनि खाएका छैनौ, तर सबै भन्दा बढी २० गोल गरेका छौ ।’ । उनका अनुसार टिममा राष्ट्रिय खेलाडी हेमन्त थापा मगर, भारतीय सेनामा कार्यरत सुविन्द्र राई, ए डिभिजन लिग, बि डिभिजन लिग खेलेका मनोज राई, रविन राई, अमृत राई, सुजन शर्मालगायत भरपर्दा खेलाडी छन् ।

कप्तान मनोज राईका अनुसार टिमको डिफेन्स र फरवर्ड पनि राम्रो छ । मिडफिल्डमा पनि समस्या नभएको उनले बताए । ‘जुनियर र सिनियर खेलाडीको तालमेल राम्रो छ, लयमा खेलिरहेका छौ,’उनले भने,‘प्रतिस्र्धात्मक हुन्छ, तर जित्नकै लागि हामी खेल्ने हो ।’ वडा १७ को फरवर्डमा तपन कार्की, मिलन राई खेलिरहेका छन् भने मिडमा हेमन्त थापा मगर, सुविन्द्र राई, दिवस सुनुवार छन् । यस्तै, डिफेन्समा सुजन शमाृ, मनोज राई र अन्य नयाँ खेलाडीहरु छन् । प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद १ लाख र उपविजेताले ५० हजार पाउनेछ भने उत्कृष्ट खेलाडीले नगद १० हजार, हाइ स्कोररले नगद ७ हजार र उत्कृष्ट कोच, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्ड, राइजिङ प्लेयर र म्यान अफ दि म्याचले जनही नगद ५ हजार पाउनेछन् ।