काठमाण्डौ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पालाई शुक्रबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङलाई शुभकामना सन्देश दिएको एन्फाले जनाएको छ ।

फिफा अध्यक्ष इन्फान्टिनोले लिग विजेता टोलीका खेलाडी, प्रशिक्षक, प्राविधिक, व्यवस्थापक र मेडिकल टोलीका सदस्यका साथै सम्पूर्ण खेल प्रशंसकलाई शुभकामना एवं बधाई ज्ञापन गरेको छ ।

फुटबलबाट सकारात्मक सन्देश दिन क्लब र फुटबल सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले करीब पाँच वर्षपछि नेपालमा फुटबलको लिग भएकामा खुशी व्यक्त गरे । गएको असोज १३ देखि नेपालमा लिग फुटबल सुरु भई गएको पुस २४ गते सम्पन्न भएको थियो । लिग ‘ए’ डिभिजन क्लब मनाङ–मर्स्याङ्दी क्लबले जितेको थियो ।
–रासस