मेक्सिको : मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

हाइडाल्गो राज्यमा भएको दुर्घटनामा अन्य कयौं घाइते भएका छन् । राज्यका प्रशासन प्रमुख ओमार फायरले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए ।

हेडाल्गो राज्यको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन छेडेर तेल चोर्ने प्रयास गरिंदा विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । मेक्सिकोका राष्ट्रपति आन्द्रियाज म्यानुएल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति ओब्राडोरले तेल चोरी नियन्त्रण गर्न कडा कदम चालेपछि तस्करी केही नियन्त्रणमा आएको छ । यसैको प्रभावस्वरुप केही राज्यका पेट्रोल पम्पहरुमा तेल अभाव देखिएको छ ।

तस्करहरुको समूहले राज्य नियन्त्रित पेट्रोलियम पाईपलाईन ड्रिल गरेर चोरी गर्न खोज्दा पछिल्लो दुर्घटना भएको हो । मेक्सिकोमा गत वर्ष पाइपलाइनबाट तेल चोरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो ।

–एजेन्सी