खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा किराती राजा होलैसुङको दश भाइ छोराको सामूहिक चौतारा बनाइएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको होलेसुङगढी जाने बाटोमा होलेसुङ समूहले सङ्कलन गरेको चन्दाबाट सामूहिक चौतारा निर्माण गरिएको हो ।  चौतारामा होलैसुङ राजाका जेठा छोरा होम्दिमहोँछा, माइला मायाराजाहोँछा, साइला जितराजाहोँछा, काइला पुरिमहोँछा, ठाइँला बिराजाहोँछा, अन्तरे फ्लोमोहोँछा, जन्तरे मुङ्लोहोँछा, मन्तरे नाम्राहोँछा, लखन्तरे सैंदाहोँछो र कान्छा तातेसुङहोँछाको छुट्टाछुट्टै नाम लेखिएको शिलालेख राखिएको छ । होलेसुङ गढी जाने पदमार्गमा निर्माण गरिएको सामूहिक चौतारामा पछिल्लो समय किराती सभ्यता अध्ययन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीयवासीले बताएका छन् ।

करीब ३५० वर्ष पहिले राज्यसत्ता सञ्चालन गरेका राजा होलैसुङको स्मृतिमा उहाँका छोराको नाममा सामूहिक चौतारा निर्माण गरिएको होलेसुङ समूहका संयोजक जनकराज राईले बताए ।
जानकारहरुका अनुसार पछिल्लो समय उनै होलैसुङ राजाको नामबाट पछि गएर हलेसीको नाम रहेको जनाइएको छ । होलैसुङ राजाका साइँला छोरा जिताहोँछाका नाती भ्वाँरमहोँछाले शासन गरेको समयमा विसं १८३० भदौमा पृथ्वीनारायण शाहको सेनाले आक्रमणगरी सत्ता कब्जा गरेको इतिहासमा उल्लेख छ ।  अहिलेसम्म ओझेलमा रहेको गढीमा नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले आफ्नो सेनालाई तलब वितरण गरेको इतिहास भेटिएको छ । पृथ्वीनारायण शाहको आक्रमणपछि भ्वाँरमहोँछाका शाखा सन्तान हलेसीमा नरहेको किराती पुर्खाहरु दाबी गर्छन् ।

हलेसीको नामाकरण होलैसुङ राजाको नामबाट रहेको आधार भेटिए पनि किराती मुन्दुममा बुइँदली र चाम्रोपाले उक्त क्षेत्रमा किरात बस्ती बसालेको जनाइन्छ । होलैसुङ बुइँदली र चाम्रोपाका नाती होमैखुङका छोरा रहेको इतिहासमा उल्लेख छ ।  तिनै किराती पुर्खाहरु खोक्चिलिपा, तायामा र खियामा रहेको स्थानीय रोमबहादुर राईले जानकारी दिए । उनीहरु हलेसी गुफामा बस्ने र तुवाचुङमा गएर तान बुन्ने गरेको हलेसी क्षेत्रका किरातीहरुको दाबी छ ।  होलेसुङगढीले गोरखा दरबार, पाटन दरबार, कीर्तिपुर दरबारको जस्तै ऐतिहासिक महत्व बोके पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । किराती सभ्यता बोकेको होलेसुङगढीको अस्तित्व पछिल्लो समय क्रमशः मेटिदै गएकाले नगर र स्थानीयवासीले गढीको संरक्षणमा चासो देखाएका छन् ।

मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडकअन्तर्गत दुर्छिमको छापडाँडाभन्दा केही माथिल्लो भागमा रहेको होलेसुङगढीमा राजा र सेनापती बस्ने छुट्टाछुट्टै गढीको जग अहिले पनि यथावत रहेको छ । सैनिक परेड खेल्ने मैदान, गढी वरिपरि हिँड्ने रिङरोड, सुरुङलगायतका संरचना अहिले पनि देख्न सकिन्छ ।  किराती इतिहास बोकेको पुरानो गढी उत्खनन गर्न विशेषज्ञसहित बजेट व्यवस्थाका लागि पुरातत्व विभागसमक्ष पहल भइरहेको नगरप्रमुख इवन राईले बताए ।  होलेसुङगढी त्रिधार्मिकस्थल हलेसीबाट करीब चार किलोमिटर दक्षिणमा पर्दछ । मध्यपहाडी लोकमार्गमा पर्ने जयराम–हलेसी सडकदेखि करीब ५०० मिटरमाथि रहेको होलेसुङगढीको प्रवेशद्वार नगरपालिकाको लगानीमा निर्माण गरिएको छ ।
रासस