धरान : प्रथम छात्र तथा छात्रा विद्यालय स्तरीय बास्केटबल प्रतियोगितामा छात्रतर्फ डिपोट उच्च मावि र छात्रातर्फ पर्वत बोडिङ स्कुल च्याम्पियन बनेका छन् ।

पूर्व जनियर पायोनियर विद्यार्थी संगठनको आयोजनामा धरान बास्केट बल संघ र सुनसरी जिल्ला बास्केटबल संघको सहयोगमा धरान–१९ स्थित हरियाली सामुदायिक बन परिषरको बास्केटबल कोर्टमा आइतबार भएको फाइनल खेलका छात्रतर्फ डिपोटले लोटस विद्या विहारलाई ४७–२९ को फराकिलो अंकले हराउदा छात्रातर्फ पर्वतले आइडियल स्कुललाई पनि १७–५ को फराकिलो अंकले हराउदै च्याम्पियन बनेको हो । डिपोटले लोटसलाई ८–७, १४–६, १३–११, १२–५ को सेटमा हराएको थियो भने छात्रतर्फ पर्वतले आइडियललाई ५–३, ३–०, ३–२, ७–० को सेटमा हराएको थियो । च्याम्पियन बनेको छात्रतर्फ डिपोट र छात्रातर्फ पर्वतले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी, उपविजेतामा चित्त बुझाएको छात्रतर्फ लोटस र छात्रार्फ आइडियलले पनि ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । व्याक्तिगत पुरस्कारतर्फ ‘मोस्ट भ्याल्लुयवल प्लेयर’ छात्रतर्फ डिपोटका बैभब योगी घोषित हुँदा छात्रातर्फ पर्वतकी शित्तल तामाङ घोषित भइन् । उनीहरुले ट्रफी हात पारे । प्रतियोगिताको फाइनल खेलमा बैभबले मात्र ३१ अंक जोड्न सफल भए भने शित्तले १३ अंक जोडेकी थिइन् । त्यसैगरी, ‘राइजिङ प्लेयर’ छात्रतर्फ लोटसका नितेश क्षेत्री घोषित हुँदा छात्रातर्फ चिल्ड्रेन्स एकेडेमीकी निवा लिम्बू घोषित हुँदै दुबै जनाले ट्रफी पाए । प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथी नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरज लामा, डिजे मल्लिक स्याडो, सगरमाथा क्याम्पसका प्राचार्य सन्तोष राई, जिल्ला बास्केटबल संघका अध्यक्ष नारायण सुबेदी, प्रतियोगिताका संयोजक चिरञ्जवी गिरीलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा छात्रतर्फ ८ टिम र छात्रातर्फ ६ टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

Basket-ball-cake

सोही अवसरमा विश्वमा बास्केटबल खेलको सुरुवात भएको १२७ वर्ष पुगेको अवसरमा केक काटेर मनाइएको थियो । क्यानेडियन नागरिक जेम्स नेल स्मिथले १८९२ मा बास्केटबल खेलको सुरुवात गरेको इतिहास छ । नेपालमा भने बास्केटबल खेलको सुरुवात २०१० सालयता धरानबाट शुरु भएको जानकारहरु बताउछन् ।।