विराटनगर : सुनसरीका २ जना प्रहरी कर्मचारी “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित भएको छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका सम्पूर्ण प्रहरी युनिटहरुबाट एक महिनाको उत्कृष्ट कार्य विवरण अध्ययन गरी “महिनाको सर्वोत्कृष्ट प्रहरी” छनौट निर्दे्शिका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी दरवन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल र संघीय प्रहरी इकाई कार्यालय, धरान महिला तथा वालवालिका सेवा केन्द्र दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रमोद कुमार पर्सेलालाई घोषणा गरिएको हो ।

विभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही दक्षिण सिमावर्ती एरियाहरुबाट हुने चोरी र तस्करी नियन्त्रण, फरार रहेका अभियुक्तलाई पक्राउ गर्न प्रभावकारी परिचालन, विभिन्न जघन्य प्रकृतिका अपराधको सफल अनुसन्धान गर्दै त्यस्ता अपराधिक समूहमा रही अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले सर्व(साधारण नागरिक माझ प्रहरीको छवि उच्च बनाउने कार्यको मुल्याङकन र कदर गर्दै “पौष महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको हो ।

महिनाको सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कारसहित प्रदेश प्रहरी कार्यालयको हाताभित्र निर्माण गरिएको स्तम्भमा तस्विर सहितको कार्य विवरण फ्लेक्स प्रिण्ट गरी राखिदै आएको छ । “महिनाको उत्कृष्ट प्रहरी” २०७५ निर्दे्शिका अनुसार मातहत तथा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय स्तरसम्म कार्यालयको मुख्य स्थानमा प्रदेश प्रहरी कार्यालयबाट घोषित “महिनाको सर्वोत्कृष्ट प्रहरी” र जिल्ला प्रहरी कार्यालयबाट छानिएका “महिनाको उत्कृष्ट प्रहरी” समेत राखिने व्यवस्था गरिएको छ ।

पुरस्कृत प्रहरी कर्मचारीहरुले सम्पादित कार्यको मुल्याङ्कन गरी आँफु पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै आँफुलाई संगठनले ठुलो सम्मान गरेको र आगामी दिनहरुमा उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पुरा गर्ने बताएका छन् ।