तेह्रथुम : तेह्रथुमको म्याङलुङ्ग–ओख्रे–शुक्रबारे सडक खण्ड अन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेवल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङ्गरोगनको काम भइरहेको छ ।

पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सन्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताए ।
तत्कालिन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । ५ करोड ९८ लाख ४७ हजार २ सय ६१ रुपैयाँमा कामको जिम्मा लिएको कम्पनीले निर्धारित म्याद भन्दा ढिला गरी भएपनि पुल निर्माणको काम सकेको हो । ४८ मिटर लम्बाई र ६ मिटर चौडाई रहने उक्त पुल स्टील प्लेटमाथि आर.सी.सी. स्ल्याब लगाएर बनाइएको छ । पुल निर्माणको काम सम्पन्न भएको पुलमा कार्यरत इन्जिनियर अमरेन्द्र चौधरीले बताए ।
पुलको समुद्घाटन र नगरपालिकाको भवन समुद्घाटन कार्यक्रम एकै पटक प्रदेश एकका मुख्यमन्त्री शेरधन राईबाट गराउन पहल गरिरहेको म्याङलुङ नगरपालिकाका प्रमुख तुम्बाहाम्फेले बताए । पुल निर्माण भएपछि छथर गाउँपालिका र म्याङलुङ नगरपालिकाबीच सिधा सडक सम्पर्क स्थापित भएको छ ।
पुल बनेसँगै वारीपारीका सडक स्तरोन्नतिको काम समेत अघि बढ्ने भएको छ । म्याङलुङदेखि पुलसम्मको १२ किमि सडक स्तरोन्नतिका लागि एस.एन.आर.टी.पी. परियोजनाले टेण्डर आव्हान गरी काम थाल्ने गरेको छ । छथर गाउँपालिका क्षेत्रको सडक स्तरोन्नति गरी अब लगत्तै म्याङलुङ देखि छथर गाउँपालिकासम्म सीधा यातायात सन्चालन गर्ने तयारी रहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।