भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ ।

वि.सं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो ।
यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । पछिल्लो सयम पोखरीको संरक्षण नहुँदा यसको ऐतिहासिक महत्व नै हराउँदै गएको छ ।  पर्यटकीय स्थल टेम्के डाँडाको काखमा पर्ने यो पोखरीको संरक्षण तथा प्रचारप्रसार गर्न सके सयौँको सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ ।

खोटाङ जिल्लाको सिमानामा पर्ने यस ठाउँबाट निकै मनोरम दृश्य देखिने भएकाले यसको विकास, विस्तार तथा प्रचारप्रसार गर्न सके अन्तिरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिने अर्का स्थानीयवासी भीमकुमार राईले बताए ।
स्थानीय तहले पनि पोखरीको संरक्षणमा अहिले चासो देखाएको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम भइरहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।