पशुपतिनगर : नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् ।

सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद्योगी, किसान र सहकारी सञ्चालकले गुणस्तरीय चिया उत्पादनमा देखापरेका समस्या र समाधानबारे जानकारी गराएका हुन् ।  भारतीय बजारमा नेपाली चियाले मूल्य नपाएको र युरोपमा चिया निर्यात गर्न जैविक हो भन्ने प्रमाणीकरण नगरिएका कारण समस्या भएको चिया उद्यमी उदय चापागाईंले बताए । अन्तरराष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च भए पनि जैविक चिया उत्पादन नभएका कारण समस्या भएको उनको भनाइ थियो ।

चियामा विषादीको प्रयोग अन्त्य गर्न र जैविक चिया उत्पादनका लागि किसानलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको माग थियो । चियाखेती शुरुआत भएको इलाममा उत्पादन हुने १० प्रतिशत चिया युरोपका बजार र ९० प्रतिशत भारतको कलकत्तामा बिक्री गरिँदै आएको छ । नेपालमा चियाखेती र उत्पादन भए पनि लोगो नहुँदा अन्तर्रा्ष्ट्रिय बजारमा नेपालमा चिया उत्पादन हुनेबारे तेस्रो मुलुकका व्यपारीलाई थाहा नै नभएकाले आधिकारिक प्रतीक चिह्न लागू हुनुपर्ने व्यावसायीले माग गरेका थिए ।

सूर्योदय टि एशोसिएशनका अध्यक्ष पुनम राईले नेपाली चिया भारतीय बजारमा लगेर बिक्री गर्नपर्ने बाध्यता रहे पनि सहज निर्यातमा समस्या रहेको बताउनुभयो । चार दिनमा कोलकत्ताको बजारमा पुग्नेमा अहिले १५ दिनसम्म लाग्ने गरेकाले नेपाली चियाले राम्रो बजार पाउन नसकेको उनले बताए । उद्योग स्थापना हुने क्रम बढे पनि कच्चा पदार्थ उत्पादन कम भएकाले चियाको नयाँ बगान विस्तारका लागि सरकारले किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने उक्त एशोसिएशनका सचिव गोपाल कट्टेलले बताए ।

चिया उद्यमी तथा इलाम क्षेत्र नं१ का प्रदेश सांसद काजिमान कागतेले चियाको गुणस्तर सुधार र नयाँ बगान विस्तारमा सहयोग गर्न माग गरे ।
मुख्यमन्त्री राईले नेपाली चियाको इतिहास डेढसय वर्ष नाघे पनि लोगो बन्न नसकेको दुःख व्यक्त गर्दै चियाको समस्या समाधान गर्न तीनै तहका सरकारले पहल गर्नुपर्ने बताए ।  किसानका समस्या समाधान नगरे देशको समृद्धिको कुरा गर्नु व्यर्थ हुने भएकाले चाँडोभन्दा चाँडो चिया अनुसन्धान केन्द्र स्थापना गरी त्यस केन्द्रबाट सबै काम गर्नुपर्नेमा उनले जोड दिए ।
चियाको प्रवद्र्धनका लागि छुट्टै चिया विकास बोर्ड स्थापना गर्न प्रदेश सरकारले छलफल अघि बढाएको र कृषिमा औद्योगिकरण गर्न चाँडै वृहत योजना कार्यान्वयमा ल्याइने पनि मुख्यमन्त्री राईले जानकारी दिए