धरान : हिसान स्पोर्टस् मिट २०७५ आइतबारबाट सुरु भएको छ अहिले फुटबल, क्रिकेट, बास्केटबल, भलिबलका खेल चलिरहेको छ ।

यही ६ गते सुरु भएको हिसान स्पोर्टस् मिट १२ गते समापन हुनेछ भने स्पोर्टस् मिटमा ३३ शिक्षालयका हजार बढि खेलाडी र ६ हजार बढी विद्यार्थीको सहभागीता रहेको छ ।

फुटबलमा एकै दिन ६ खेल सम्पन्न

सातौ हिसान स्पोर्टस् मिट २०७५ अन्तर्गत सोमबार फुटबलका ६ खेल सम्पन्न भएको छ । सोमबार भएको फुटबल खेलमा पूर्वाञ्चल एकेडेमीले नर्थ पोइन्ट एकेडेमीलाई ६–० गोलको फराकिलो अन्तरमा पराजित गरेको छ । त्यस्तै ज्ञान दर्पण एकेडेमीलाई ग्रिनपिस एकेडेमीले ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
सोमबार भएको अर्काे खेलमा लर्डबुद्ध एकेडेमीले नेशनल एकेडेमीलाई २–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै गरी महेन्द्र मेमोरियल स्कुलले समिट स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ । सोमबार भएको अर्काे खेलमा धरान आदर्शले सगरमाथा स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । त्यस्तै गरी एम्स एकेडेमीले विष्णु मेमोरियल स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ ।

बास्केटबलमा डिपो, सियोन, एम्स र धरान आदर्श विजयी

सातौ हिसान स्पोर्टस मिट २०७५ अन्तरगत सोमबारबाट बास्केटबलको खेल सुरु भएको छ । धरान–१८ स्थित डिपो स्कुलको खेल मैदानमा भएको बास्केटबल खेलमा डिपो स्कुल, सियोन स्कुल, एम्स एकेडेमी र धरान आदर्श स्कुल विजयी भएका छन् । डिपो स्कुल धरानले धरान उच्चलाई ४७–२९ स्कोरले पराजित गर्यो भने सियोन स्कुल धरानले युरेका स्कुल धरानलाई ३५–३ को फराकिलो अन्तरमा पराजित गरेको छ । सोमबार नै भएकोअर्काे खेलमा एम्स एकेडेमी धरानले विष्णु मेमोरियल स्कुल धरानलाई ३५–७ को फराकिलो अन्तरले पराजि गर्यो ।  धरान आदर्श स्कुल धरानले विश्व आदर्श स्कुल इटहरीलाई २४–१८ अंकको अन्तरले पराजित गरेको छ ।
विजेता टिम सेमिफाइनल प्रवेश गरेका छन् भने पराजित टिम खेलबाट बाहिरिएका छन् । मंगलबार सेमिफाइनलमा डिपो स्कुल धरान र सियोन स्कुल धरान भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा एम्स एकेडेमी र धरान आदर्श भिड्नेछन् ।