धरान : प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले खेलकुदको क्षेत्रमा उर्जा जगाउन सके धरान महत्वपूर्ण खेलकुदको सहरको रुपमा विकास हुने बताएका छन् ।

धरान–६ पानबारीमा सोमबारदेखि सुरु भएको ‘चौथो पानबारी भलिबल रनिङ कपको उद्घाटन गर्दै सभामुख भण्डारीले धरानलाई महत्वपूर्ण खेलकुदको सहरको रुपमा विकास गराउन खेलकुदमा उर्जा ल्याउन आवश्यक रहेको बताएका हुन् । ‘खेलकुदमा उर्जा ल्याउन सकियो भने धरान खेलकुदको महत्वपूर्ण सहर बन्न सक्छ ।’ सभामुख भण्डारीले भने । धरान खेलकुदको सहरको रुपमा परिचित भएपनि अझै खेलकुद क्षेत्रको विकास गर्नुपर्ने उनले खाँचो औल्याए । सभामुख भण्डारीले धरानमा पानबारी पनि गाभिएपछि यस क्षेत्रमा प्रत्येक वर्ष बजेट थप गदै लानुपर्ने बताए । खेलकुदको पूर्वाधार विना पनि पानबारीमा प्रतियोगितालाई निरन्तरता दिनु प्रशंसायोग्य रहेको बताए । यहाँको खेलकुद पुर्वाधारको स्तरोन्नतीका लागि प्रदेश सरकारले पनि बजेट विनियोजन गर्ने बताए ।

‘यो मैदानको स्तरोन्नतीको लागि राष्ट्रिय खेलकुद परिषदले सम्बोधन गर्छ, अब प्रदेश सरकारबाट पनि केही सम्बोधन हुन्छ, चाडैँ यसको नतिजा सुन्न पाउनु हुनेछ ।’ उनले भने । कतीपय क्लवहरुले आर्थिक अभावका कारण खेलकुलाई निरन्तरता दिन नसकिरहेको बताउदै यसमा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । खेलाडीहरुको खेलप्रतिको शिप विकास, व्याक्तित्व तथा नेतृत्व विकासको लागि सरकारको ध्यानाकर्षण भएको समेत बताए । खेलकुद स्वास्थ्यको लागि मात्र नभएर देशलाई चिनाउने हुनाले सरकारले खेलकुदको क्षेत्रमा लगानी गर्ने स्पष्ट पारे । प्रदेश १ की सांसद उमिता बराइलीले खेलकुद क्षेत्रको विकासको लागि आवश्यक कानुन ल्याउनको लागि भुमिका खेल्ने बताइन् । भलिबल खेलको विकाससंगै भलिबल खेलबाट पानबारीको पहिचान स्थापना गर्नको लागि प्रतियोगितालाई निरन्तरता दिदै आएको उसपत्री बोइज यूनियन क्लवका उपाध्यक्ष राजेन्द्र न्यौपानले बताए ।