धरान : प्रगतिवादी कवि एवं साहित्यकार बेणु आचार्यको मंगलबार बिहान निधन भएको छ । कवि आचार्यको बिहान करिब ४ बजेतिर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको हो ।

उनको अहिले इटहरीस्थित बुढीगंगामा अन्तिम दाहसँस्कार पनि भइरहेको छ । धरान वडा नं १३ घर भएका आचार्य लामो समयदेखि दमलगायत रोगहरुबाट ग्रसित थिए । उहाँको श्रीमति र दुई छोरा, एक छोरी छन् । कवि आचार्यको कविता र मुक्तकहरु गरिब, शोषित एवं पीडितहरुको पक्षमा लेखिएका छन् । उनको एक चोक्टा इतिहास नामक कविता संग्रह र अर्को मुक्तकहरुको संग्रह प्रकाशित छ ।

कवि आचार्य अत्यन्तै प्रगतिशिल विचारको व्यक्ति भएको वरिष्ठ कवि वम देवानले बताए । 'उहाँ प्रगतिवादी, प्रगतिशिल कवि हुनुहुन्थ्यो, जिवनभर शोषण अन्याय अत्याचारविरुद्ध र शोषित पीडित जनताको पक्षमा लेखिरहनु भयो,' कवि देवानले भने, 'उहाँले कविता र मुक्तक मात्र लेख्नु भयो, जति लेख्नु भयो, सबै गरिब, शोषित पीडित जनताको लागि लेख्नुभयो ।'