इटहरी : दोस्रो सुदेश सुब्बा मेमोरियल हिमशिखर कप यहि माघ १३ गतेदेखि सुरु हुने भएको छ ।  सोमबार तरहरामा पत्रकार सम्मेलन गर्दै स्वर्गीय सुब्बाको स्मृतिमा सुनसरी जिल्लास्तरीय फुटबल कपको आयोजना गर्न लागिएको जनाइएको हो ।

हिमशिखर स्कूलका संस्थापक समेत रहेका सुब्बाको २०७३ असोज ११ गते निधन भएको थियो । नेपाल फुटबल विद्यालय संघ सुनसरीको अध्यक्ष समेत रहेका सुब्बाको स्मृतिमा गत बर्षदेखि सुनसरी जिल्लास्तरीय फुटबल कप आयोजना गर्दै आएको विद्यालयका प्रिन्सिपल शैलेस पुरीले बताए । ‘खेलमा धेरै रुची राख्ने सुदेश सरको स्मृतिमा उहाँलाई यो भन्दा राम्रो श्रद्धाञ्जली अरु हुँदैन भनेर यो टुर्नामेन्ट गर्न लागेका हौँ,’ पुरीले भने, ‘यो विद्यालयको संस्थापक मात्रै नभएर विद्यार्थीको खेल क्षमता अभिबृद्धि गर्न उहाँको ठूलो योगदान छ ।’

बढीमा कक्षा ५ सम्मका र १२ बर्ष सम्मका छात्र विद्यार्थीहरुलाई खेलमा सहभागीता गराईने बताउँदै उनले भने, ‘सुनसरी भरीका १६ वटा विद्यालयहरुले सहभागीता जनाउने छन्, विद्यालयले फुटबल खेलप्रति लगानी गर्ने उदेश्यले खेल सञ्चालन गर्दै आएका छौँ ।’ खेल संयोजक राकेश आलेका अनुसार विजेता हुने टीमले नगद पन्ध्र हजार सहित ट्र्याक सुट र उपविजेता हुने टीमले नगद दश हजार सहित ट्र्याक सुट हात पार्नेछन् । यसलाई ठूलो प्रतियोगीताको रुपमा नभई फन ग्याम र स्कूलबीचको सम्बन्ध स्थापित गर्न खेल आयोजना गरिएको उनको भनाई थियो । खेलमा उत्कृष्ठ हुने एकजना खेलाडीले दैनिक रुपमा प्रोत्साहन स्वरुप पुरस्कृत गरिने उनले जानकारी गराए ।

तरहराको तामाङ टोलको खेल मैदानमा स्कूल समयमा खेल हुने बताइएको छ । खेल माघ २० गतेसम्म सञ्चालन हुनेछ ।