इटहरीः माघ २४ देखि फागुन ३ गतेसम्म आयोजना हुने इटहरी फुड फेस्टिबलको तयारी तीब्र पारिएको छ ।

आयोजक होटल व्यवसायी संघ इटहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै इटहरी ९ स्थित जनता माविको प्राङ्गणमा हुने उक्त फेस्टिबल यसअघि इटहरीबासीले देखेको भन्दा पृथक हुने अध्यक्ष जीवन पराजुलीले बताए । ‘हामीले कोशी टप्पुको अर्नाको स्तम्भ राखेर पर्यटकलाई आकर्षण गराउँने छौ,’अध्यक्ष पराजुलीले भने,‘हामीले यहाँको अर्नाको प्रचार गर्न सकेका छैनौ, जबसम्म यसको प्रर्वद्धन गर्दैनौ, तबसम्म पर्यटनमा केही गर्न सकिदैन ।’ उनले २८ प्रजातीका गुराँसहरु समेत प्रदर्शन गरि सेल्फी जोन बनाउने समेत बताए । ‘मान्छेले रेष्टुरेन्टमा सेल्फी खिच्छन्, तर गुराँसको प्रचार भएको छैन’ उनले भने ।

प्रदेश १ मा गुराँसको समेत प्रर्वद्धन गर्न सकिने भएकाले गुँरास फेस्टिबलमा राख्ने जानकारी गराए । उक्त फेस्टिबलमा स्थानीय, जातीय, परम्परागत, आधुनिक र मौलिक खानाको परिकार सहित ७० वटा स्टल राखिने बताइएको छ । अहिलेसम्म ४० वटा स्टलको बुकिङ भइसकेको बताउँदै फेस्टिबलमा हेलि टुरको समेत प्याकेज लिइएको पराजुलीले बताए । हेलिमा छोटो दुरीको टुरका लागि ४ हजार नौ सय ९९ रुपैया र ताप्लेजुङको पाथीभराको दर्शन गर्नका लागि तीस हजार रुपैँया लाग्ने कार्यक्रम संयोजक दीपक पोखरेलले बताए । यो टुर इटहरीमा पहिलोपटक भएको उनले जानकारी दिए ।

50309762_1128126617387774_3067192744876179456_n copy

होटल व्यवसायी संघको ब्यानरमा कार्यक्रम भएपनि सबै व्यापारी र सर्बसाधारण मानिसहरुको महोत्सव बुझ्नुपर्ने उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस बिष्टले बताए । उनले भने, ‘यसलाई हामी सबैले आफ्नो महोत्सव बुझ्नपर्छ, हामीले भेडेटार र बगरकोट गएर नाच्दा हुन्छ, तर हामीले त्यहाँका मानिसलाई इटहरीमा पर्यटनको हिसाबले बोलाउँनका लागि फेस्टिबलको आयोजना गर्नु महत्वपूर्ण कुरा हो ।’ यस क्षेत्रलाई टुरिजम हब बनाउनका लागि समेत फेस्टिबलको आयोजना गरेको होटल प्रिमिएर स्कूलका सिइओ सुनिल भुषालले बताए । सर्बसाधारण मानिसका लागि ५० र एक सय रुपैँया टिकट राखिएको उनले बताए ।

फेस्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुुति दिने बताइएको छ । हेलिकप्टर बाहेक करीब ३२ लाख ७० हजार लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त फेस्टिबलमा करीब एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्य राखिएको छ । प्रदेश तथा स्थानीय सरकारले पर्यटनको क्षेत्रमा लगानी गर्न नसकिरहेको बेला होटल व्यवसायीहरुले पर्यटकीय हब बनाउनका लागि इटहरीमा फेस्टिबलको प्रयास गरेको महासचिव उमानाथ दाहालले जानकारी दिए ।