ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकले “धम्क्याएर कर्मचारी निकाल्दै चिया बगान” शीर्षकको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । झापाको मेचीनगरमा रहेको टोकला चिया बगानमा कार्यरत श्रमिक कर्मचारीहरुलाई धम्की दिदैँ श्रमिक निकाल्ने गरेको पाइएको छ । बगान प्रशासनले सरकारले लागू गरेको मजदुर श्रम ऐन कार्यान्वयन गर्नुको साटो उल्टै विभिन्न बहाना र धम्की दिएर स्थायी कर्मचारीहरु निकालिरहेको फेला परेको हो । त्रिवेणी समुहले २०५७ सालमा टोकला बगानसहित झापा र इलामका सातवटा चिया बगानलाई सरकारले निजीकरण गरेको थियो । २५ वर्षदेखि बगानमा कार्यरत श्रमिक दिलिप क्षेत्रीले आफुलाई अचानक कार्यालयमा बोलाई माथिको आदेशमा अब काम गर्न इलाम जानुपर्यो भन्दै दबाव दिएको बताए । उनले आफ्नो परिवार यतै रहेकोले इलाम जान नसक्ने बताउँदा राजीनामा दिनका लागि दबाव दिएको उनले बताए । त्यस्तै आफ्नी आमाको निधन भएपछि माउ उराँवले पनि २०५७ सालबाट बगानमा काम थालेका थिए । उनी पनि अहिले निकालिन लागेका छन् । बगानमा पत्ती टिप्नबाट काम शुरु गरी बगानको चौकीदार बनेका उनलाई अहिले माथिको आदेशमा चौकीदार हटाउनुपर्ने भनेपछि तनावमा छन् । “किर्ते नागरिकताबाट अंश मुद्दा लड्दै” शीर्षकको समाचार पनि ब्लाष्टको पहिलो पृष्ठमा छापिएको छ । कीर्ते विवरण पेश गरेर निकालेको नागरिकताको आडमा एक भारतीय नागरिकले आफ्नै बहिनीमाथि अंश मुद्दा लडिरहेको पाइएको छ । भारत दार्जिलिङका उमेश ताम्राकारले विर्तामोड निवासी आफ्नै बहिनीलाइ आमाले बकसमा दिएको जग्गामा दावी हालेर अदालतमा मुद्दा लडिरहेका उनका ज्वाँइ सुधीर बस्नेतले पत्रकार सामु जानकारी दिए ।

उद्घोष : आजको उद्घोष दैनिकले पहिलो पृष्ठमा “प्रदेश सांसदहरुको अनुभव अलमलमै बित्यो एक वर्ष” समाचार छापिएको छ । सोमबार अर्थात माघ ७ गत्ते प्रदेश १ का ९३ जना प्रदेश सांसदले पद तथा गोपनियताको सपथ खाएको एक वर्ष पुगेको छ । अलग–अलग दल र निर्वाचन क्षेत्र, चुनावमा बाडेका आश्वासन र जनताका अनेकौँ अपेक्षाको तालमेलबारे अधिकांश सांसदको साझा निष्कर्ष छ –‘सबैका लागि पहिलो अभ्यास, काममा भने अलमल ।’ काम गर्नेलाई एक वर्ष पर्याप्त समय नै हो । तर पहिलो पटक नयाँ संरचनामा काम गर्नेले धेरै प्रदेश सांसदहरुले यो अवधिलाई ‘अभ्यास’ कै समयका रुपमा लिएका छन् । सपथको एक वर्ष र माघ २२ को पहिलो प्रदेशसभा बैठक यताको अवधिलाई पैदेश १ का सांसदहरुले अपेक्षित उपलब्धि प्राप्त नभएको भन्दै असन्तुष्टि नै धेरै प्रकट गरेका छन् । सत्ताधारी दल वा प्रतिपक्ष, जुनसुकै दलबाट प्रतिनिधित्व गरे पनि सांसदहरुले नयां संरचनाकै कारण केह गर्न नसकिएको भन्ने तर्क गर्न तयार छैनन् । प्रदेश सरकारमा दुई तिहाइ प्राप्त नेकपाका सांसद एकराज कार्कीको विचारमा संविधानमा उल्लेखित अधिकारको अभ्यासमा यो एक वर्षलाई प्रदेश सरकारले उपयोग गर्न नसकेको भन्ने लागेको छ । ‘मुलुककै पहिलो संरचना भए पनि संविधान निर्दिष्ट अधिार प्रयोगमा हामीमा सुस्तता देखिएकै हो’ झापाका सांसद कार्कीले बताए ।


नागरिक पूर्वेली : आजको नागरिक पूर्वेलीले “रोकियो सडक निर्माणको काम” तीन तहका सरकारबीच समन्वय नहुँदा झापामा धेरैजसो सडकको काम अघि बढ्न सकेका छैनन् । ठेक्कासमेत लागेका सडक निर्माण रोकिएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले सम्पन्न गनुपर्ने धेरै सडक अलपत्र बनेका छन् । सहक निर्माण थालेको दुई वर्षसम्म समेत काम अघि नबढेपछि झापाको गौराहदहका बासिन्दा आन्दोलित छन् । गौराहदहबाट कोरीबारीसम्म जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको र बजेट समेत कटौती भएको विरोधमा प्रदर्शन गरे । २ वर्ष अगाडि निर्माण सम्झौता भएको गौरादह–बैगुनधारा–कोरीबारी सडक निर्माण योजना चालु आर्थिक वर्षमा रोकिएपछि आक्रोषित छन् । आउँदो फागुनसम्म पनि काम नभएको उपभोक्ताको आरोप छ ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकले “सार्वजनिक बाटो अतिक्रमणमा” शीर्षकको समाचार छापेको छ । रामधुनी र इनरुवा नगरपालिका नगर क्षेत्रका पुरानो सार्वजनिक बाटो, पैनी अतिक्रमणमा परेको छ । पूर्व पश्चिम राजमार्गदेखि पश्चिम एक किमी दुरीमा रामधुनी नगरपालिका २ शिवनगर गाउँदेखि इनरुवा ६ सखुवागाछी सम्म रहेको पुरानो बाटो अतिक्रमणमा परेको हो । स्थानियबासीका अनुसार त्याहाँबाटबग्ने दत्तकिचा खोला पूर्व छेउबाट नक्सामा बाटो रहेको छ । तर बाटो संग सिमाना जोडिएका जग्गाधनीहरुले सार्वजनिक जग्गा उपभोग गर्दै अतिक्रमण गरेका हुन् ।