इटहरी: कोशी सेन्टजेम्स उच्च माविले उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) सुनसरीले आयोजना गरेको स्पोर्टस् मिट अन्तर्गत भलिबल प्रतियोगिताको छात्रातर्फको उपाधी जितेको छ ।

बुधबार (आज) सम्पन्न छात्रातर्फको फाइनल खेलमा कस्तुरी उच्च माबिलाई २–१ को सोटमा जितेको हो । बेस्टअफ थ्री को आधारमा खेलाइएको खेलमा पहिलो सेट कोशीले जित्दा दोस्रो सेट कस्तुरीले जितेको थियो । अन्तिम तथा निर्णायक सेटमा कोशीले जित निकाल्दै उपाधी हात पारेको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडी कोशी सेन्टजेम्सकी अनिसा राई, बेष्ट लिफ्टर कोशीकै दिपा बिष्ट, बेस्ट सर्भर कस्तुरी उच्च माबिकी मनिषा कटुवाल र बेस्ट स्पाइकर कस्तुरीकै सुष्टी बिष्ट घोषित भएकी थिइन् ।

छात्रको उपाधी एम्स एकेडेमीलाई

बुधबार नै सम्पन्न भलिबलको छात्रतर्फको उपाधी एम्स एकेडेमी धरानले जितेको छ । फाइनलमा पूर्वाञ्चल एकेडेमी तरहरालाइ ३–० को सोझो सेटले पराजित गर्दै उपाधी जितेको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एम्स एकेडेमीका रिजन बिष्ट, बेस्ट लिफ्टर एम्सकै भिसाम राई र बेस्ट स्पाइकर एम्सका अनदिप राई घोषित भए । यस्तै पूर्वाञ्चल एकेडेमीका अभिषेक राई बेस्ट सर्भर र मानव कार्की बेस्ट ब्लकर घोषित भए । प्रतियोगिताको बिजेता तथा उपबिजेता खेलाडीहरुलाइ माघ १२ गते शनिबार समापनको अवसरमा पुरस्कार प्रदान गरिने हिसान सुनसरीका सचिव पेशल पोखरेलले जानकारी दिए ।

DSC_2405 copy

समापनको दिन धरानस्थित नेशनल कलेजमा गरिने समापनमा झ्याउरे भाकामा नृत्य प्रतियोगिता सञ्चालन गरिने पोखरेलले जानकारी दिए । सोही कार्यक्रममा सुनसरीमा क्रियाशील सक्रिय एक जना पत्रकारलाई शिक्षा पत्रकारिता पुरस्कार तथा सम्मान समेत गरिने बताइएको छ । स्पोर्टस् मिटमा सुनसरीका हिसानमा आबद्ध ३३ बिद्यालयले भाग लिएका थिए । जसमा १ हजार भन्दा बढी बिद्यार्थीले प्रत्यक्ष रुपमा सहभागिता जनाउँदा ६ हजारभन्दा बढी बिद्यार्थी अप्रत्यक्ष रुपमा सहभागी भएको प्रतियोगता संयोजक सागर भट्टराइले जानकारी दिए ।