धरान : धरान-६ पानवारीमा जारी चौथो पानवारी भलिबल कप २०७५ को फाइनलमा आयाजक सयपत्री बोइज युनियन क्लब र आमचोक गाँउपालिका भोजपुर भिड्ने भएका छन् ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजकले धरान भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो । आयोजकले पहिलो सेट २५–१३ को अन्तरमा सजिलै जितेको थियो भने दोस्रो सेटमा निकै प्रतिष्पर्धा भएको थियो । दोस्रो सेट आयोजकले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेट २५–१४ को अन्तरमा जितेको थियो । खेलको म्यान अफ द म्याच आयोजक टिमका विवश सुब्बा घोषित भएका थिए ।

बिहीबार नै सम्पन्न अर्काे सेमिफाइनल खेलमा आमचोक गाँउपालिका भोजपुरले एक नं. प्रदेश प्रहरी रानीलाई ३–१ को सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ । पहिलो सेट २५–१७ ले जितेको भोजपुरले दोस्रो सेट २४–२६ ले हारेको थियो । तेस्रो सेटमा २५–१८ ले रानीलाई हराएको भोजपुरले पछि परेको अवस्थामा चौथो सेट जितेको थियो । १७–२० को अन्तरमा पछि परेको भोजपुरले २५–२१ ले चौथो सेट जितेको थियो । खेलको म्यान अफ द म्याच रानीका युकेश मगर घोषित भएका थिए । दुवै खेलका म्यान अफ द म्याचलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

फाइनल खेल शनिबार विहान १० बजे हुने आयोजकले जानकारी दिएको छ । खेलको विजेताले ७५ हजार नगद पुरस्कार सहित ३० तोला चाँदीको रनिङ ट्रफि प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले ४१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । शनिबार हुने फाइनल खेल तथा समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्ट प्रमुख अतिथि रहने आयोजकले जानकारी दिएको छ ।

khel-tiesheet 2