तेह्रथुम: तेह्रथुमको लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर बजारमा विहीबार आगलागी हुँदा डेढ करोड रुपैयाँ बढीको क्षति भएको छ । आगो निभाउने क्रममा दुई व्यक्ति घाइते भएका छन् ।

लालीगुराँस नगरपालिका–२ स्थित मध्यबजारमा भएको आगलागीबाट लालबहादुर याख्खाको ढुंगामाटोको गाह्रो र जस्ताको छानो भएको दुई तले घर पुर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणका क्रममा छेऊका दुई वटा घरमा समेत क्षति भएको छ । छिमेकी रेनुका गुरुङ र फुलमाया गुरुङको घरमा समेत क्षति पुगेको हो ।

50730772_2068885416539168_9

आगो निभाउने क्रममा स्थानीय ५० वर्षीय गोपाल गुरुङ र मुनादेवी घाइते भएका छन् । दुवैको स्थानीय बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नगरप्रमुख अर्जुन माबोहाङले जानकारी दिए ।साँझ करिब पौने पाँच बजे मकलमा आगो तापेर बसेका व्यापारी छेतेन साहको पसलबाट आगो निस्किएको थियो ।

पेट्रोल र ग्याँसको समेत व्यापार गर्ने शाहको पसलमा मकलको आगो भुँईमा लड्दा आगो सल्किएको र आगलागी भएको प्रहरीले जनाएको छ । नगरपालिकाको केन्द्रमै भएपनि समयमा दमकल आएन । स्थानीयबासीले सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका कारण ठुलो क्षति हुनबाट बन्चित भएको हो । पछि दमकल र स्थानीयबासी तथा प्रहरीको सक्रियतामा करिब छ बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।

50644831_2068882729872770_1