संखुवासभा : हिमपातका कारण तीन दिनदेखि बेपत्ता चार जना पर्वतारोही सम्पर्कमा आएका छन् ।

संखुवासभामा पर्ने मकालु आधार शिविरबाट सम्पर्कविहीन बनेका जाङ्बु शेर्पा, दारिन्जी शेर्पा, पेम्वारिन्जी शेर्पा र पासाङ गेलु शेर्पा याङली भन्ने ठाउँबाट सम्पर्कमा आएका हुन् ।

उनीहरुलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लगिने बताइएको छ । जर्मन–नेपाल फ्रेण्डसिप ट्रेक नाम दिएर हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रामा उक्त समुह निस्केको ट्रेकिङ कम्पनीले जनाएको छ ।

३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्याटेलाइट फोनमार्फत उनीहरुले कम्पनीलाई गराएका थिए ।