धरान: एक दिवसिय क्रिकेटअन्र्तगत युएई विरुद्धको खेलमा खराब ब्याटिङ गर्दै नेपालले एक सय १४ रनको चुनौती दिएको छ ।

दुबईमा जारी खेलमा नेपालले ३३.५ ओभरको खेलमा अल आउट हुदै एक सय १३ रन मात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गर्दा आरिफ शेखले २५ रन जोडे । नवौं नम्बरमा ब्याटिङमा उत्रिएका सन्दीप लामिछानेले १५ रनको योगदान गरे । उनले २७ बलको सामना गरेका थिए ।

नेपालका ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए भने बिनोद भण्डारीले ५ रन जोडेका थिए । कप्तान पारस खड्का २० रन र दीपेन्द्रसिंह ऐरी शून्य रनमा रनआउट भए । उत्कृष्ट बलिङ गर्ने क्रममा युएईका लागि महोम्मद नाभिद र आमिर हायातले समान ३ विकेट लिए । यस्तै इमरान हैदरले २ विकेट लिँदा क्वादेर एहमदले १ विकेट लिए ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा हुँदै गरेको खेलमा युएईले टस जित्दै फिल्डिङ रोजेको थियो । १० महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा सातौँ स्थानमा रहँदै नेपालले ४ वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । त्यसपछि नेदरल्यान्डसँग नेपालले पहिलो एकदिवसीय सिरिज खेल्दा १–१ को बराबरी भएको थियो । पहिलो खेलमा नेदरल्यान्ड र दोस्रोमा नेपाल विजयी भएको थियो । नेपालले एकदिवसीयसँगै युएईविरुद्ध टी–२० सिरिज खेल्नेछ ।