धरान: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध एवं अवरोधका बीचमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधि सभा(संसद)बाट बहुमतले पारित भएको छ ।

कांग्रेसको नाराबाजी र विरोधका बीचमा सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिबाट आएको विधेयक निर्णायर्थ पेश गर्न अनुमति दिएका थिए । वैठकमा कांग्रेसका सांसदहरुले निरन्तर रोष्टमअघि पुगेर नाराबाजी गरिरहदा सभामुख महराले पटक पटक आफ्नो स्थानमा गएर बस्न आग्रह गरेका थिए । तर, उनको आग्रह अस्वीकार भएपछि महराले विधेयक प्रस्तुत गर्न अनुमति दिए ।

अघिल्लो पटकको संसद बैठकमा कांग्रेसका सांसदहरुले मन्त्री पोखरेललाई रोस्टमतर्फ जानै दिएका थिएनन् । तर, आजको बैठकमा भने विरोध र नाराबाजी गरेपनि मन्त्री पोखरेललाई रोष्टममा जानैबाट भने रोकनन् । केही कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजेपनि मर्यादापालकले रोष्टम पु¥याएका थिए । कांग्रेस सांसदहरुलाई छल्दै मन्त्री पोखरेल रोष्टममा पुगेपछि सत्ता पक्षका सांसदहरुले ढयाप ढयाप गरेका थिए । त्यसपछि मन्त्री पोखरेलले सो विधेयक प्रस्तुत गर्नु गरेका थिए । विपक्षहरुले निरन्तर नाराबाजी र अवरोध गरिरहेका कारण सो विधेयकमाथिको छलफलमा कसैले पनि भाग लिएनन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले ठूलो स्वरमा होहल्ला गर्दै चिकित्सा शिक्षा विधेयक पारित नगर्न आग्रह गरिरहे पनि सत्तारुढ दलको बहुमतमा विधेयक पारित भएको घोषणा सभामुख महराले गरेका थिए । वरिष्ठ चिकित्सक गोविन्द केसीसँगको सम्झौता विपरीत प्रावधान विधेयकमा राखिएको भन्दै काँग्रेसले त्यसको विरोध गरिरहेको थियो ।