इनरुवा: सुनसरीको हरिनगर गाउँपालिकाबाट बहुबर्षीय सडक निर्माण आयोजना अन्र्तगत ठेक्का लागेको ७ वटा सडकमध्ये २ वटा सडक निर्माणमा चरम लापरवाही भइरहेको पाइएको छ ।

हरिनगर गाउँपालिकाको बहुबर्षीय योजनाको आवधारमा बसन्तपुरदेखि भारत बिहार घुरणा जोडने बाटो र भुटाहादेखि भारत बिहारको बस्मतिया जोडने बाटो मापदण्डअनुसार निर्माण नभएको पाइएको हो । उक्त सडक निर्माण गरिदा माटो हालेर फिलिंग गर्नुको साटो ठेकेदारले को साटो बालुवा प्रयोग गरिरहेको भेटिएको छ । स्थानीयहरुले चर्को गुनासो गरेपछि स्थलगत अनुगमन गरेर हेर्दा माटोको साटो बालुवा प्रयोग गरीसडक निर्माण भइरहेको भेटिएको हो ।

सडकको छेउमा बालुवा थुपारेको हेर्दा जुनसुकै बेला बाढी र वर्षाको पानीले सडक बगाएर लग्ने अवस्था छ । यस बिषयमा गाउँपालिकाले पनि गम्भीरतापुर्वक ध्यान दिएको छैन । माटो हाल्नु पर्ने ठाँउमा बालुवा हालेको बिषयमा गाँउपालिकाको मिलेमतो हुन सक्ने स्थानीयले आरोप लगाएका छन् । गाउँघरमा कालोपात्रो सडक निर्माण भइरहेको सुन्दा स्थानीयबासीहरु खुशी थिए । तर अहिले चरम लापरवाही र भ्रष्टचार भएको भन्दै तिनै स्थानीयबासीहरु दुःखी छन् । साथै, उनीहरु आक्रोशित पनि छन् ।

20190125_163233

सडक निर्माण हुने भएपछि स्थानियहरुले खुशी भएर सडकले काट्ने आफ्नो जग्गा पनि निःशुल्क उपलब्ध गराएका थिए । तर सडक निर्माणमा ठेकेदार कम्पनीले काम सुरु गरेपछि मापदण्ड विपरीत र लापरवाही हुन थालेपछि उनीहरु आक्रोशित छन् । ठेकेदार कम्पनीले माटो ठाउँमा बालुवाको सडक बनाउन पहिलो चरणको फिलिङ् गर्ने काम गरेको छ । यसरी बालुवा भरेर निर्माण हुने सडक गुणस्तरीय नहुने भन्दै स्थानीयहरुले पहिलो चरण माटो राखेर फिलिङ् गरि कालोपत्रे गर्नुपर्ने भन्दै निरन्तर माग र दबाब दिइरहेका छन् ।

बसन्तपुरदेखि घुरणा बोडरसम्मको सडक शाह निर्माण सेवा कन्ट्रक्सनलाइ प्रा.लि.ले ठेक्का पाएको छ भने भुटाहादेखि बस्मतिया बोर्डरसम्मको ठेक्का आशिष ब्राइट बुल आशिर्वाद प्रा.लि. कन्ट्रक्सनले पाएको छ । ती कम्पनीहरुले मापदण्ड विपरीत निर्माण सामग्री प्रयोग गरेपनि समाजका अगुवा व्यक्तिहरुलाई पनि आर्थिकरुपमा मिलाएको हुनाले कसैले पनि विरोध नगरेको सर्वसाधारणहरुको गुनासो छ ।