तेह्रथुम, ११ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिका–२, बसन्तपुर बजारमा विहीबार साँझ भएको आगलागीबाट १ करोड २१ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट लालबहादुर याख्खाको ढुंगामाटोको गाह्रो र जस्ताको छानो भएको तीन तले घर र अन्य धनमाल पुर्ण रुपमा क्षति हुँदा ४० लाख रुपैयाँको क्षति भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए । यस्तै याख्खाको घर भाडामा लिई पसल गर्दै आएका छेतेन शाहको कैलाश किराना पसल पुर्ण नष्ट हुँदा ३१ लाख रुपैयाँ क्षति भएको छ ।
आगो नियन्त्रणका क्रममा छिमेकी मिनकुमारी गुरुङको दुई तले कच्ची घर भत्काइदा २५ लाख र रेनुका खड्काको घर भत्काउँदा २० लाख रुपैयाँको क्षति भएको मुचुल्का गरिएको प्रहरी निरीक्षक पौडेलले बताए । यस्तै नजिकैको घरमा पसल गर्ने नेतकुमार याख्खाको कस्मेटिक पसलमा समेत ५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउनेक्रममा घाइते भएका गोपाल गुरुङको हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विहीबार साँझ करिब पौने पाँच बजे मकलमा आगो तापेर बसेका व्यापारी छेतेन शाहको पसलबाट आगो निस्किएको थियो ।

स्थानीयबासीले सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका थिए । स्थानीय पहल, दमकल र डोजरको सहायताका कारण आगलागीबाट ठुलो क्षति हुनबाट जोगिएको स्थानीयबासीले बताएका छन् । आगलागी साँझ करिब छ बजे पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

नगरपालिकाद्धारा ८ लाख ७५ हजार राहत उपलब्ध

आगलागीबाट पीडित परिवारलाई लालीगुराँस नगरपालिकाले राहत वितरण गरेको छ । नगरकार्यपालिकाको निर्णयअनुासर आगलागी पीडित परिवारलाई तत्कालै ८ लाख ७५ हजार रुपैयाँ राहत विरतण गरिएको नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले जानकारी दिए । नगरपालिकाले घर पुर्ण क्षति भएका लालबहादुर याख्खालाई ४ लाख, घर क्षति भएका मिनकुमारी गुरुङलाई २ लाख, र रेनुका खड्कालाई १ लाख ५० हजार तथा पसलमा क्षति पुगेका नेतकुमार याख्खालाई १ लाख रुपैयाँ राहत वितरण गरेको छ ।


यस्तै घाइते गोपाल गुरुङलाई उपचारका लागि २५ हजार रुपैयाँ राहत वितरण गरिएको छ । पीडित शुक्रबार साँझ एक कार्यक्रमका बीच नगर प्रमुख अर्जुन माबोहाङ र उपप्रमुख तिला पोखरेलले राहत वितरण गर्नुभएको छ । यस्तै नगरपालिकाकै अगुवाईमा राहत संकलन अभियान सन्चालन समेत सन्चालन हुने भएको छ । बसन्तपुर बजारसहित नगरपालिका क्षेत्र र छिमेकी बजारमा समेत राहत संकलन गर्ने कार्यक्रम तय भएको प्रवक्ता खड्काले बताए ।