सुनसरी : बैंकको बढ्दो ब्याजदर र सिण्डिकेट पद्धतिकाविरुद्धमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी ब्यापारी आन्दोलित भएका छन् । लामो समयदेखिको लोडसेडिङ, मधेस आन्दोलन, भारतीय नाकाबन्दी र पछिल्लो समयको करको भार खेप्दै आएका उद्योगी ब्यापारीले बैंकको बढ्दो व्याजदरविरुद्ध आन्दोलन घोषणा गरेका हुन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा बैंकको बढ्दो ब्याजदर, सिण्डिकेट पद्धतिका विरुद्धमा आन्दोलन गर्ने भएका हुन् । बैंकहरुको मनोमानी र सिण्डिकेट पद्धति कायम रहँदा धेरै उद्योगहरु दैनिक रुपमा बैंकको बढ्दो ब्याज थेग्न नसकी बन्द हुने अवस्थामा पुगेको भन्दै आन्दोलन गर्न बाध्य हुनु परेको उद्योगी, व्यवसायीहरुको गुनासो रहेको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैंकहरुको चर्को ब्याजदर र सिण्डिकेटका कारण उद्योग, व्यवसाय संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् ।
औद्योगिक क्षेत्रका राहतका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि उद्योग व्यवसाय क्षेत्रहरुमा बैंकहरुबाट हुने लगानीमा बैंकको बढ्दो र चर्को ब्याजदर नियन्त्रण गरिनु पर्छ भनी उद्योगी, व्यवसायीहरु र नीजि क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ, मोरङ व्यापार संघले ध्यानाकर्षण गराएपनि सम्बन्धित निकायबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएकाले बाध्य भएर सांकेतिक विरोध गर्नुपरेको उद्योगी, व्यापारीले बताएका छन् ।

उनीहरुले नेपाल राष्ट्र बैंक मार्फत उद्योग , व्यवसाय क्षेत्रको राहतका लागि उत्पादन मूलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा अधिकत्म ७ प्रतिशत र व्यवसायीक क्षेत्रमा ९ प्रतिशतसम्म नबढाइ ब्याजदर कायम गरियोस् र बैकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गरियोस् भनी माग राखेका छन् । अहिले बैकहरुले १४ प्रतिशतसम्म ब्याज लिदै आएका छन । यदि आफ्ना मागहरु पूरा नभएमा आन्दोलन शसक्त बनाउने उनीहरुले बताएका छन् ।

उनीहरुले प्रथम चरणका कार्यक्रम अन्तर्गत यही माघ १३ गते बिहान १० बजे सिडियो कार्यालय मोरङ मार्फत प्रधानमन्त्री, अर्थमन्त्री,उद्योगबाणिज्य तथा आपूर्ति मन्त्री,प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायत सम्बन्धीत निकायमा पठाउने र सोही दिन ११ बजे राष्ट्र बैक विराटनगरमा ज्ञापन बुझाउने जनाइएको छ ।
यस्तै माघ २० गते नेपाल राष्ट्र बैक विराटनगर प्रदेश नम्बर १ मा विहान साढे ९ बजेदेखि ११ बजेसम्म मूल गेटमा धर्ना दिने, २१ गते १२ बजेसम्म धर्ना दिने , २२ गते २ बजेसम्म धर्ना दिने , २३ गते ४ बजेसम्म धर्ना दिने उद्योगी व्यापारी बताएका छन् ।

यदी आफ्ना मागहरु बेवास्ता गरे २४ गते सम्पूर्ण उद्योग व्यवसायको साचो जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई बुझाउने र सोही दिन नेपाल राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरी निरन्तर धर्ना दिने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । मोरङ, सुनसरी औधोगीक करिडोरमा ६ सय भन्दा धेरै साना ठूला उद्योगहरु संचालनमा रहेका छन् ।