जनकपुर : धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दाँ ७ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।

धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती बोकेर फर्किदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा शुक्रबार साँझ करेन्ट लागेको हो ।
बसको छतमाथि राखेको ट्रंक जस्ताको बाकसमा विजुली ११ हजार भोल्टको तारमा छोएपछि उक्त दुर्घटना भएको हो ।

bus 2

करेन्ट लागेर मृत्यु हुनेहरुमा सिन्धुलीको दुधौली नगरपालिका ४ का ९ वर्षीय बालक आक्रोस कुमर दनुवार, २२ वर्षीय पूजा अधिकारी दनुवार, ३० वर्षीय लिला अधिकारी दनुवार, रामबाबु अधिकारी दनुवार, धनुषा सबैला नगरपालिका ४ की ३५ वर्षीय रेशमदेवी कुमर दनुवार र सनाखत नभएको ११ वर्षीय एक बालक रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमको लागि राति नै जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यस्तै दुर्घटनामा झण्डै एकदर्जन यात्रु घाइते भएका छन् । घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको छ । घाइते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

सिन्धुलीको दुधौली नगरपालिका ४ का रामप्रसाद अधिकारी दनुबारका छोरा रामबरण दनुबारको धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा विवाहको लागि जन्ती आएको बस फर्किने बेला दुर्घटना भएको हो । छोरीपक्षले कोसेली दिएको ट्रंक छतमा राखेको र त्यहि ट्रंक बिजुलीको तारमा छोएपछि करेन्ट लागेर दुर्घटना भएको हो । बसमा करेन्ट प्रवाह भएपछि हताहत भएको थियो । करेन्ट लागेर बसको सीटहरु सबै जलेको छ ।

बसमा सपरिवार सवार भएर पनि करेन्ट लागेको बेला हाम फालेर बाँच्न सफल दुधौली नगरपालिका ९ का बद्री कुमर दनुवारले करेन्ट लागेपछि बसमा आगो लागेको बताए । उनले भने, ‘पहिला बिचारै गरेन, माथि ट्रंकमा करेन्ट लागेपछि सबै उफ्रे, भागमभाग भयो । झ्यालमा आगो बल्न थाल्यो । हताहत भयो । फलाम छोएकाहरुको करेन्ट लागेर मत्यु भयो, कति घाइते भए । हामी त पुरै परिवार हाम फालेर बाँच्न सफल भयौं । भाग्य ठीक थियो । ’

घटनापछि तुरन्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटना स्थल पुगेको थियो । विवाहमा बेहुलाबेहुली अर्को गाडीमा भएको कारण उनीहरु सकुशल छन् । छतमाथि ट्रंक राखेको र बिजुलीको तारको ख्याल नगर्दा यस्तो ठुलो दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।