अमेरिकामा ३५ दिनदेखि प्रभावित हुँदै आएको सरकारी काम अस्थायी रुपमा सुचारु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्को राजनीतिक दबाबपछि इतिहासमै लामो समयसम्म भएको कामकाज अस्थायी रुपमा सुचारु गर्न सहमति जनाएका हुन् ।

राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ सम्मका लागि संघीय सरकारलाई रकम उपलब्ध गराउने सहमति भएको बताए ।

योबीचमा दुईदलीय समितिको बैठक बसेर सीमा सुरक्षाका विषयमा विचार गरिने सहमति भएको छ ।

राष्ट्रपति ट्रम्पले कंग्रेससँग उचित सम्झौता नभए सरकारका काम पुनः बन्द हुने चेतावनी दिएका छन् ।

उनले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट उपलब्ध नगराए पुनः काम ठप्प हुने र आपतकालीन अवस्थाको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

राष्ट्रपति ट्रम्पले बजेट निकासा नगरिदिएपछि संघीय सरकारका करिब ८ लाख कर्मचारीले विगत ३५ दिनदेखि तलव पाउन सकेका थिएनन् ।

कतिपय कर्मचारी अस्थायी रुपमा कामबाट निकालिएका थिए ।

अमेरिका र मेक्सिकोबीचको सीमामा पर्खाल लगाउन राष्ट्रपति ट्रम्पले ५ अर्ब ७० करोड डलर कंग्रेससँग माग गरेका थिए ।

तर सो रकम दिन डेमोक्र्याटिक सांसदहरुले अस्वीकार गरेका थिए ।
–एजेन्सी