धरान: युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले घरेलु टोली यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । हिजो नमिठो पराजय व्यहोरेको नेपालले आज टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनाएको छ ।

राम्रो सुरुवात गरेको नेपालका ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । त्यसपछि भने नेपालको विकेट लगातार गुम्यो । भण्डारी २१ मा आउट हुदा मल्ल ४४ र दिपेन्द्र सिंह ऐरी १० रन बनाएर पेभिलियन फर्के । यस्तै, पवन शरार्फ ८ र पारस खड्का २१ रनमात्र जोड्न सके । नेपालको पाँचौं विकेट झर्दासम्म नेपालको स्कोर मात्र ११० रन थियो ।

आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाल्दा नेपालले सम्मानजनक स्कोर रह्यो । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे । शेख २९ रनमा आउट हुदा रोहितले अर्धशतक खेले । उनले ५५ रन बनाएका थिए । यस्तै, करण केसीले १० बलमा १८ रन, सोमपाल कामीले २ रन, सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रन जोडे । घरेलु टोलीले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ३ विकेटले युएईसँग पराजित भएको थियो । नेपालले ३३.५ ओभरमा अलआउट हुदै मात्र ११३ रन बनाएको थियो । युएईले ११४ रनको लक्ष्य मात्र ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको थियो ।