झापा :  झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् ।

हातखुट्टा बाँधिएको अवस्थामा (शनिबार) आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक(एसपी) भीमप्रसाद ढकालले बताए । हातखुट्टा बाँधिएको अवस्थामा फेला परेकोले उनको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । एसपी ढकालका अनुसार घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको छ ।'घटनाबारे प्रहरीले गम्भीररुपमा अनुसन्धान शुरु गरिसकेको छ, यसको लागि धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको छ,' एसपी ढकालले भने ।

उक्त उद्योग पर्शुराम अग्रवालले सञ्चालन गरेको हो । ६६ वर्षीय दुगडको हात खुटट् बाँधी मुखमा सिरानी कोचेर हत्या भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । भारतको विशाखापटनम घर भएका व्यावसायी दुई वर्षदेखि म्यानेजरको रुपमा उक्त सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए ।बुवा बिरामी भएकाले घर जानका भनि शुक्रबार नै छुट्टी लिएका दुगडले बेलुका नौ बजे आँखामा औषधी हालेर सकुसल सुतेका थिए । तर शनिबार बिहान ७ बजे डाइभर लिन आउँदा दुगढ मृत अवस्थामा भेटिएका थिए । अहिले घटनास्थललाई घेरा हाली अनुसन्धान तीब्र बनाएको जिल्ला प्रहरी कार्यालय झापा डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।