धरान: ब्याटिङमा रोहितकुमार पौडेल र वलिङतर्फ सोमपाल कामी चम्किएपछि नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यो जितसँगै तीन म्याचको सिरिजमा नेपाल र युएईको १/१ को बराबरी भएको छ । अब अन्तिम म्याच पर्सि सोमबार हुनेछ ।

टस तिजेर पहिला ब्याटिङ गरेको नेपालले २४२ रनको योगफल तयार गरेको थियो । घरेलु मैदानमा जितको लागि २४३ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन मात्र बनाउँदा सबै विकेट गुमाउन पुगेको थियो । सोमपालले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएईको ब्याटिङ लाइन धरापमा परेको थियो । सोमपालले ५ विकेट लिने क्रममा पहिलो ओभरको अन्तिम बलमा चिराग सुरी, तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेर, पाँचौं ओभरको अन्तिम बलमा साइमन अनवर, छैटौं ओभरको पहिलो बलमा अस्फाक अहमदलाई शिकार बनाएका थिए ।

पाँचौं विकेटका लागि यूएईका सीपी रिवाज र मोहम्मद उस्मानले २८ रनको साझेदारी गरे । तर, १५ औं ओभरमा सन्दीपले उनीहरुको साझेदारी मात्र तोड्नन्, एकै ओभरमा तीन विकेट लिँदै नेपाललाई जिततर्फ डोहोर्‍याए । १९ औं ओभरको पाँचौं बलमा सन्दीपले चौथो विकेट लिए भने अर्को ओभरको तेस्रो बलमा सोमपाल कामीले जहोर खानको विकेट लिँदै खेल टुंग्याए । सोमपाल प्लेयर अफ दि म्याच बने ।

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि निरन्तर विकेत पतन हुन थालेको थियो । भण्डारी २१, मल्ल ४४ र दिपेन्द्र सिंह ऐरी १०, पवन शरार्फ, ८ र पारस खड्का २१ रनमा आउट भए । कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे । शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गर्दै ५५ रन बनाए । अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका रोहितले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका छन् ।