झापा:झापास्थित सुरुङ्गाका गोपीकृष्ण र सावित्रा भट्टराई दम्पत्तिले पितृमोक्षको कामना गर्दै आयोजना गरिएको सप्ताहब्यापी श्रीमद्भागवत महापुराण समापनको अवसरमा विभिन्न सामाजिक संघसंस्थाहरुलाई ५५ हजार बढी नगद सहयोग गरेका छन् ।

स्वर्गीय पिता मनप्रसाद र माता गोमा भट्टराईको स्मृतिमा भट्टराई दम्पतीले झापाका महिला सञ्चारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको ‘नारी संचार अक्षयकोष’मा २५ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । भट्टराई परिवारले नारी सञ्चार गृह झापाका कार्यवाहक अध्यक्ष भीमा शिवाकोटी र सचिव रेजिना गौतमलाई उक्त रकम हस्तान्तरण गरेको हो । महिलाहरुको क्षमता अभिबृद्धि, प्रोत्साहन लगायत बहुउद्देश्य राखेर नारी संचार गृह झापाले गत भदौदेखि अक्षयकोष स्थापना गरेको छ । दाहाल नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष समेत हुन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि भट्टराई परिवारले ५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम महासंघ उपाध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरिएको छ । सहयोग ग्रहण गर्दै सञ्चारकर्मी शिवाकोटीले भट्टराई परिवारलाई धन्यवाद व्यक्त गरेकी थिइन् । यसैगरी भट्टराई परिवारले सुरुङ्गा प्रेस क्लवलाई ५ हजार ५ रुपैयाँ, कन्काई विहानी क्लवलाई १० हजार ५ रुपैया, भट्टराई कुलबंश प्रतिष्ठान नगर समिति कनकाई र जिल्ला समिति झापालाई ५÷५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । भट्टराई कुलबंश प्रतिष्ठान झापा अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सहयोग रकम हस्तान्तरण कार्यक्रममा गोपीकृष्ण भट्टराईको अध्यक्षता र देवी भट्टराईको सञ्चालन रहेको थियो ।