धरान: नेपालको प्रमुख सुन्दरी प्रतियोगिता मिस नेपालको आयोजक संस्था हो, हिडन ट्रेजर । यसको अध्यक्ष हुन्, गोपाल सुन्दरलाल कक्षपति । तर, उनको सक्रियता र परिचय यतिमा मात्र सिमित छैन् । उनी नेपाल साइक्लिङ एशोसिएशनका पनि हाल केन्द्रीय अध्यक्ष छन् ।

उनै कक्षपति शनिबार धरानमा सुनसरी साइक्लिङ संघको प्रथम साधारणसभामा प्रमुख अतिथिकारुपमा उपस्थित थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कक्षपतिले धरानमा माउण्टेन बाइकको एसियन च्याम्पियनसिप गराउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै त्यसको लागि साइक्लिष्ट तथा संघलाई तयार रहन पनि आग्रह गरे । उनको यो भनाईले सुनसरीका साइक्लिष्टहरुलाई निक्कै उत्साह प्रदान गरेको छ ।

कक्षपतिले धरानको रेस ट्रयाक अन्र्तराष्ट्रियस्तरको मापदण्डअनुसार भए र पाहुनाहरुलाई खाने, बस्ने राम्रो व्यवस्था भए केही बर्षभित्र एसियन च्याम्पियनसिपन धरानमा आयोजना गराउने बताए । उनका अनुसार सन् २०२१, २२ को लागि आयोजनाको दाबी गर्नुपर्ने समय आएको छ । यसमा नेपालको पनि दाबी हुनेछ, र रेस ट्रयाक, राम्रो होटलको व्यवस्थापन हुनसके धरानमै आयोजना हुने कक्षपतिले बताए । ‘अर्को पटक एसियन माउण्टेनबाइक च्याम्पियनसिप धरानमा गर्नसक्छौ, त्यसको लागि तपाईहरु तयार रहनुस्,’कक्षपतिको भनाई थियो,‘धरानको रेस ट्रयाक अन्र्तराष्ट्रियस्तरको छ कि छैन, होटल पनि राम्रो हुनुपर्छ ।’

                               साइकल चलाएरै जिविकोपार्जन हुनुपर्छ

IMG_9555

साइकल एशोसिएशनका केन्द्रीय अध्यक्ष कक्षपतिले साइक्लिङलाई रमाइलो, स्वास्थ्य र पर्यटनकोरुपमा मात्र नहेरी खेलकोरुपमा प्राथमिकता दिएर अघि बढ्न संघका पदाधिकारीहरुलाई आग्रह गरेका थिए । अब संघले धेरै भन्दा धेरै खेलाडी उत्पादनमा केन्द्रीत हुनुपर्ने उनको धारणा थियो । साथै, खेलाडीहरुलाई साइकल चलाएरै आफ्नो जिविका चलाउनसक्ने अवस्था पनि सृर्जना गर्नुपर्ने संघको जिम्मेवारी भएको अध्इक्ष कक्षपतिले बताए । ‘साइक्लिङलाई अब तपाईहरुले खेलकोरुपमा प्राथमिकता दिएर लाग्नुपर्छ, अब खेलाडीलाई ध्यान दिनुस् र धेरै राम्रो खेलाडी उत्पादन गर्नुपर्छ । साइकल चलाएरै जिविको पनि चलाउने अवस्था बनाउनुपर्छ,’अध्यक्ष कक्षपतिले भने,‘कोच, मार्सल,कमिसार्स तयार गर्न जिल्लालाई केन्द्रबाट सहयोग गर्न तयार छौ ।’

                                    धरान प्रदेश १ कै साइक्लिङ प्रशिक्षक केन्द्र हुने

राजधानी, पोखरापछि धेरै साइक्लिङको गतिविधि हुने र साइक्लिष्टहरु पनि भएको सहर हो धरान । यहाँ हरेक बर्ष साइक्लिङ च्याम्पियनसिप पनि आयोजना भइरहेको छ । जुनियर(स्कुल)स्तरकादेखि सिनियर साइक्लिष्टहरु धरानमा छन् । पछिल्लो पुस्ता साइक्लिङमा क्रेज बढ्दो छ । अध्यक्ष कक्षपतिले सुनसरी उत्कृष्ट जिल्ला भएको भन्दै धरानमा प्रदेश नं १ कै साइक्लिङको प्रशिक्षण केन्द्र(हब) बन्न सक्ने सम्भावना भएको बताए । यसको लागि उपयुक्त स्थान भए केन्द्रले धरानलाई प्रशिक्षण केन्द्र बनाउन सहयोग गर्ने उनको भनाई थियो । ‘ठाउँ छ भने प्रदेश १ कै ट्रेनिङ सेन्टर बनाउन सक्छौ, माउण्टेन बाइक मात्र होइन, बिएमएक्स, रोड रेस सबै खालको तालिम दिनुपर्छ,’उनले भने ।

                      के भन्छन् नवनिवार्चित अध्यक्ष राजेन लिम्बू ?

IMG_9569

शनिबार सम्पन्न प्रथम साधारणसभाबाट सुनसरी जिल्ला साइक्लिङ संघको अध्यक्षमा चयन भएका राजेन लिम्बू धरानमा अन्र्तराष्ट्रियस्तरको क्रसकन्ट्री च्याम्पियनसिप आयोजना गर्न सकिने बताउँछन् । धरान १४ स्थित पाँचकन्या जंगलको रेस ट्रयाकमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेको जानकारी दिदै उनले धरान उपमहानगरपालिकाको बजेटबाट उक्ट ट्रयाकको स्तरोन्नती गरिएको पनि बताए । ‘हाम्रो नगरपालिकाको बजेटबाट स्तरोन्नति गरेका छौं, सातौ राष्ट्रिय खेलकुदको साइक्लिङ च्याम्पियनसिप यही भएको थियो, यो रेस ट्रयाक अन्र्तराष्ट्रियस्तरको भइसकेको छ,’अध्यक्ष लिम्बूले भने ।

यो ट्रयाकबाहेक धरानको वडा नं २० स्थित विष्णुपादुका, धरान ४ स्थित पत्राङ्बारीमा पनि च्याम्पियनसिप आयोजनाको सम्भावना रहेको छ । धरानमा पछिल्लो समय स्तरीय होटल तथा लजहरु खुल्नेक्रम भइरहेकोले खाना र बस्नको लागि पनि कुनै समस्या नभएको अध्यक्ष लिम्बूले बताए । उनले भने,‘हामी केन्द्रसँग निरन्तर सम्पर्क रहेर पहल गरिरहन्छौ, एसियन च्याम्पियनसिप धरानमा हुनसक्यो भने यहाँको पर्यटनलाई ठुलो टेवा पुग्छ ।’