ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “अस्त–व्यस्त बन्दै मिक्लाजुङको मधुमल्ला बजार र सडक” शीर्षकको समाचार छापिएको छ । पूर्वकै पुरानो एवम् चिरपरिचित मधुमल्ला बजार आजभोलि अस्त व्यस्त बन्दै गएको छ । साघुरो सडकमा जथाभावी पार्किङ गरिदाँ मोरङ मिक्लाजुङको मधुमल्ला बजार अव्यवस्थित बनिरहेको हो । बढ्दो शहरीकरण, जनसंख्या वृद्धिका कारण बजारमै हुने जथाभावी पार्किङ र सडकमा नै राखिएका निर्माण सामग्रीले सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । बजारका साँघुरा सडकमा जथाभावी पार्किङ गरेपछि अन्य सवारी आवत–जावतमा समेत समस्या थपिए पनि नियामक निकायहरु मैन छन् । पैदल हिँड्ने यात्रुहरुले हिडने ठाउँ पाउनै मुस्किल पर्ने गरेको छ । स्थानीय तह निर्वाचनको बेलामा मधुमल्ला बजारलाई नमुना बनाई व्यवस्थापन गर्छौ भनेर प्रायः सबै दलले आफ्ना घोषणा–पत्रमा प्रतिबद्धता जनाएका थिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “६ वर्षीय बालिका बलात्कृत” शीर्षकको समाचार छापिएको छ । पाँचथर जिल्लाको कुम्म्याक गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन् । शुक्रबार रातिको समयमा कुम्याक–२ की ६ वर्षीय बालिका बलात्कृत भएकी हुन् । आफन्तहरु बिहेमा गएको बेला बालिका बलात्कारको शिकार बनेकी हुन् । कुम्याक–यासोक घर भई हाल माङझाबुङमा बस्दै आएका २१ वर्षीय अन्तरे भनिने एकल लावतीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी गराए । मादकपदार्थ सेवन गरेर यस्तो घटना भएको बताइएको छ । प्रहरीले लावतीलाई शुक्रबार राति नै पक्राउ गरेको गरेको थियो । पीडक लावतीलाई शनिबार सदरमुकाम फिदिम ल्याइएको छ । पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भईरहेको छ । यता, पीडितको आफन्तले कडा सजायको माग गरेका छन् । “पहाडबासी तराइको अस्पतालको भरमा” शीर्षकको समाचारलाई पहिलो पृष्ठमा नागरिक पूर्वेलीले छापेको छ । चिकित्सा शिक्षा सुधारको लागि आफुसंग भएका सम्झौता कार्यान्वयनको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाममा आइसियु, सिसियुलगायतका सुविधा नभएको भन्दै काठमाण्डौँ लगियो । राष्ट्रिय चर्चामा रहेका केसीलाई त रातारात काठमाण्डौँ पुर्याउने काम भयो तर सर्वसाधारण नागरिकको अवस्था कस्तो होला ? त्यतिमात्र हैन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री केबी गुरुङ जस्ता नेता भएका जिल्लामा यतिको प्रवन्ध किन हुन सकेन भन्ने प्रश्नसमेत उठिरहेको छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुमको बासिन्दाले लिन सक्ने इलाममा ५० शैयाका अस्पताल भएपनि पर्याप्त सुविधाको अभाव छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्रमुख अतिथिबाटै सभा बहिष्कार” शीर्षकको समाचार छापिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङले अवैधानिक रुपमा ४६ औँ वार्षिक जिल्लासभा ग्रामथान गाउँपालिकाको बनिगामामा गरेको छ । शनिबार प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएका ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझिले रेडक्रसको जिल्लासभा अवैधानिक भएको भन्दै कार्यक्रम बहिष्कार गरेका थिए । अध्यक्षले बहिष्कार गरेपछि ग्रामथानके उपाध्यक्ष फुलकुमारी माझीलाई शनिबार नै प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी कार्यक्रममा सहभागी गराईएको थियो । “खाजा खर्च जोगाएर विद्यार्थीको सहयोग” शीर्षकको समाचार उद्घोष देनिकमा छापिएको छ । नमुना कलेज इटहरीमा अध्ययनरत विद्याथीहरुले सुनसरीको इनरुवा –४ मा रहेको त्रिभुवन बस्तीमा सहयोगी सामग्री प्रदान गरेका छन् । बीएसडब्लु दोश्रो वर्ष अध्ययनरत विद्यार्थीले त्रिभुवन वस्तीका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । विद्यार्थीहरुले खाजा वापतको रकम बचत गरी जम्मा हुन आएको राशि विपन्न समुदायका बालबालिकाको शिक्षामा खर्चिएका हुन् ।