तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका–२, बसन्तपुर बजारका अग्नीपीडितकालागि जनप्रतिनिधिकै पहलमा राहत संकलन अभियान सुरु भएको छ ।

नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ, उपप्रमुख तिला पोखरेल, वडाध्यक्षहरु, कार्यपालिका सदसयहरु, कर्मचारी, रेडक्रस, उद्योग वाणिज्य संघ लगायतको सक्रियतामा शनिबारबाट राहत संकलन अभियान सुरु भएको हो ।
अभियानबाट पहिलो दिन डेढ लाख रुपैयाँ बढी रकम संकलन भएको छ । बसन्तपुर बजारबाट १ लाख ५३ हजार ९ सय ४० रुपैयाँ राहत रकम संकलन भएको नगर प्रमुख माबोहाङले बताउनुभयो । उहाँले अन्य ठाउँमा समेत राहत संकलन गर्ने र एकमुष्ट वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

आगलागीबाट लालबहादुर याख्खाको ४० लाख, कैलाश किराना पसल सन्चालक छेतेन शाहको ३१ लाख, छिमेकी मिनकुमारी गुरुङको २५ लाख र रेनुका खड्काको २० लाख तथा पसल सन्चालक नेतकुमार याख्खाको ५ लाख गरी कुल १ करोड २१ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।
नगरपालिकाले समेत शुक्रबार पीडित परिवारलाई ८ लाख ७५ हजार रुपैयाँ राहत विरतण गरेको थियो । नगरपालिकाले घर पुर्ण क्षति भएका लालबहादुर याख्खालाई ४ लाख, घर क्षति भएका मिनकुमारी गुरुङलाई २ लाख, र रेनुका खड्कालाई १ लाख ५० हजार तथा पसलमा क्षति पुगेका नेतकुमार याख्खालाई १ लाख रुपैयाँ राहत वितरण गरेको हो । यस्तै घाइते गोपाल गुरुङलाई उपचारका लागि २५ हजार रुपैयाँ राहत वितरण गरेको जनाएको छ ।