तेह्रथुम:तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत प्रशारण लाइन तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।

नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथासिघ्र अलाइनमेण्ट परिवर्तन गरी टिएमजे क्षेत्रको जैविक विविधता बचाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएको छ । करिडोर निर्माणकालागि टिएमजे क्षेत्रको बसन्तपुरदेखि ढुंगेसाँघु क्षेत्रमा सर्वे सकिएर काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना कोशी करिडोर २२० केभीए विद्युत प्रशारण लाइन निर्माणले तीनजुरे मिल्के जलजले क्षेत्रको जैविक विविधतामा प्रत्यक्ष असर पुर्याउने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । आयोजना निर्माण हुँदा ‘गुराँसको राजधानी’ उपनामले चिनिने सो क्षेत्रको गुराँस वन नष्ट हुने नगर प्रमुख माबोहाङको तर्क छ । सो क्षेत्रको बनमा २८ प्रजातिका गुराँस फुल्ने कारणले विश्वभर चर्चित छ ।

तर करिडोरको प्रशारण लाइन निर्माण गर्दा टिएमजे क्षेत्रका सामुदायिक बनमा मात्रै २७ सय बढी रुख काट्ने आयोजनाको प्रारम्भिक तयारी रहेको छ । सो योजना अनुसार रुख काट्दा भएको गुराँस वन समेत नष्ट हुने र दिर्घकालिन रुपमा समेत गुराँस वन र यहाँको जैविक विविधतालाई असर पुर्याउने भएकाले करिडोरको अलाइन्मेण्ट परिवर्तनकालागि नगरपालिकाले छलफल थालेको नगर प्रमुख माबोहाङले बताए । गुराँस बन जोगाउन उपभोक्ता र सरकारले समेत अर्बौँ रुपैयाँ लगानी गरिरहेका बेला आयोजनाले रुख काटेर प्रशारण लाइन बनाउन लागेकोप्रति स्थानीय सरकारको आपत्ति रहेको उनले बताए । नगरपालिकामा सर्वपक्षीय छलफल र पत्रकार भेटघाट कार्यक्रम गर्दै नगर प्रमुख माबोहाङले देशले गर्व गर्नुपर्ने टिएमजे क्षेत्रको गुृराँस बन जोगाउन सबैले ध्यान पुर्याउनुपर्ने बताए ।

विश्वमा पाइने ४२ मध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने र त्यसमध्येका २८ वटा यहाँको एकै बनमा फुल्ने महत्वलाई नभुल्न र यसको संरक्षण र प्रचार प्रसारमा आवश्यक भूमिका खेल्न समेत स्थानीय सरकारले ध्यानाकर्षण गराएको छ । सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्यको सूचीमा यो क्षेत्रलाई राखेको भन्दै मेयर माबोहाङले यहाँको पर्यटकीय महत्वलाई भुलेर प्राकृतिक सम्पदाको दोहन गर्नु नहुने बताए ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस मात्रै फुल्दैनन्, यहाँ एक सय २० प्रजातिका पुतली, लिडेमुसा, रातो पान्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा समेत पाइन्छन् । यो क्षेत्रमा पदमचाल, कुड्की, बिख्मा, सतुवा, वन लसुन, यार्सागुम्बाजस्ता लोपोन्मुख दुई दर्जन भन्दा बढी जडीबुटी पनि पाइन्छन् । विद्युत प्रसारण लाइनका कारण यहाँको जीवजन्तु, पशुपन्छी र वनस्पतिको बासस्थान प्रभावित हुने नगर प्रमुख माबोहाङले बताए । उनले भने, ‘आयोजनाले स्थानीय सरकार र उपभोक्तासँग सहकार्य समेत गरेको छैन, हामीलाई थाहै नदिई हामीले वर्षौदेखि जोगाएर राखेको र यहाँको अस्तित्वसँग जोडिएको गुराँस मास्न लागेको छ ।’ उहाँले अलाइन्मेण्टका विषयमा अन्य जिल्लामा समेत प्रश्न उठेको भन्दै त्यसकालागि ध्यानाकर्षण गराए ।

आयोजनाले बसन्तपुरको चित्रे सामुदायिक बन क्षेत्रका १४ सय रुख काट्ने गरी टाँचा लगाउन थालेको छ । चैते सामुदायिक बन क्षेत्रमा पनि छापा लगाएर रुख समेत काटिसकेको छ । रुख काट्ने विषयमा आफुलाई जानकारी नदिइएको चैते सामुदायिक बन समुहका अध्यक्ष युकबहादुर बस्नेतले बताए । उनले भने, ‘हामीलाई मौखिक जानकारीमा आयोजनाले रुखमा छापा लगायो, राष्ट्रिय गौरवको आयोजना भन्दै हामीले जोगाएको गुराँस वन मासिदैछ ।’ आयोजनाको अलाइन्मेण्टभित्र टिएमजे क्षेत्रको तेह्रथुमका चार वटा, संखुवासभाका ४ वटा र ताप्लेजुङको १ वटा गरी ९ वटा सामुदायिक बन र केही निजी जग्गाको समेत रुख काट्ने तयारी रहेको आयोजनाको बसन्तपुर–ढुंगेसाँघु खण्डका साइड इन्चार्ज सोम पौडेलले बताए । उनका अनुसार आयोजनाले काटेका १ रुख बराबर अन्य २५ वटा विरुवा उपलब्ध गराउनेछ ।

निजी जग्गा अधिग्रहण गरेको क्षेत्रमा प्रभावितलाई मुआब्जा दिइने आयोजनाले जनाएको छ । आयोजनाले तेह्रथुममा १० किमि, संखुवासभामा १०।५ किमि र ताप्लेजुङमा ११ किमि प्रशारण लाइन बनाउने सर्वे गरेको छ । प्रशारण लाइनको टावर निर्माण गर्दा करिब दुई रोपनी जमीन ओगट्छ । त्यसबाहेक मध्यभागबाट १५–१५ मिटर फँडानी गरेर अलाइन्मेण्ट निर्माणको तयारी छ । टावर १८ मिटर भन्दा अग्लो हुने भएकाले गुराँस वन कम मात्रै क्षति हुने आयोजनाका साइड इन्चार्ज पौडेलको तर्क छ । आयोजनाले पहिलो खण्डमा ३ सय १३ वटा र तेश्रो खण्डमा १ सय २२ वटा टावर राख्नेछ । पुर्वका पाँच वटा जिल्लालाई समेट्ने कोशी करिडोर प्रशारण लाइनकालागि भारतीय एक्जिम बैंकको ९० मिलियन डलर ऋण सहयोग छ । यो प्रशारण लाइनबाट अरुण–३ बाहेक पुर्वका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा उत्पादन भएको विद्युत संकलन गरी झण्डै २ हजार मेघावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्ने नेपाल विद्युत प्राधिकरणको योजना रहेको साइड इन्चार्ज पौडेलले बताए ।

प्रशारण लाइनका लागि २०७४ चैत्र २७ गते नै मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको थियो भने २०७४ मङ्सिरमै जग्गा अधिग्रहणको काम थालिएको थियो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५ सय १६ मेगावाट विद्युत सोही प्रशारण लाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता समेत गरिसकेको छ । सो करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १ सय ५ किलोमिटर २ सय २० केभी डबल सर्किटको प्रशारण लाइन निर्माण भइरहेको छ । त्यस्तै दोस्रो खण्डमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २ सय २० केभीको सब स्टेसन निर्माण र तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु ९ताप्लेजुङ० ३३ किलोमिटर प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको आयोजनाका साइड इन्चार्ज पौडेलले बताए ।

कार्यक्रममा सहभागी स्थानीयबासीहरुले आयोजनालाई आफ्नो अलाइन्मेण्ट परिवर्तन गर्न आग्रह गरेका छन् । यसअघि सुनसरीको धरान–भेडेटार क्षेत्रमा समेत करिडोरको अलाइनमेण्ट परिवर्तन गर्न माग गर्दै स्थानीयबासीले माग गर्दै आएका छन् । प्रदेश सरकारले समेत अलाइनमेण्ट परिवर्तनका लागि सहयोग पु¥याउने प्रदेशका मन्त्रीले खुला वक्तव्य दिदै आएका छन् । तर आयोजनाले भने अलाइनमेण्ट परिवर्तन गर्दा बढी लगानी र आयोजना निर्माणकालागि निर्धारित भन्दा अझै केही वर्ष बढी समय लाग्ने जनाएको छ ।