इटहरी : सुनसरी अन्तर प्राथमिक विद्यालयस्तरीय दोस्रो सुदेश सुब्बा मेमोरियल कप २०७५ को आइतबार उद्घाटन भएको छ ।

ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले तरहरास्थित बहुभाषी खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरे । स्वर्गीय सुदेश सुब्बाको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन आयोजक हिमशिखर स्कूल र प्याराडाइज स्कूल बीचको खेलमा हिमशिखर स्कूलले ७–० को फराकिलो अन्तरले जित हात हासिल गर्यो । यस्तै, आजै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर स्कूलले ३–० को गोल अन्तरले हिल भ्यु स्कूललाई पराजित गरेको छ । प्रतियोगिताको फाइनल तरहरामा माघ २० गते हुनेछ ।

गत बर्षबाट सुरु भएको सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०७५ मा विजेता हुने टिमले नगद पुरस्कार १५ हजारहजार सहित ट्रफी, मेडल र ट्रयाक सुट प्राप्त गर्नेछन् । प्रतियोगीताको उप–विजेता टीमले नगद १० हजारसहित ट्रफि, मेडल सहित ट्रयाक सुट प्राप्त गर्नेछन् । प्रतियोगीताका प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरीने साथै प्रतियोगीता विभिन्न विधातर्फ उत्कृष्ट घोषित खेलाडीहरुलाई व्यक्तिगत पुरस्कार समेत प्रदान गरीने आयोजक हिमशिखर स्कूलका प्रधानाध्यापक शैलेश पुरीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर चौधरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य भएकाले हिमशिखर स्कूलले जिल्ला स्तरीय प्राथामिक तहका विद्यार्थीलाई समेटेर आयोजना गरिएको खेलकुदको सफलताको कामना सहित आयोजक हिमशिखर स्कूललाई बधाइ दिएका थिए।