धरान: धरानको पर्यटनको कुरा गर्दा होस् वा ठुलो गोष्ठी, सेमिनार आयोजना गर्नुपर्दा होस्, सबै एउटै गुनासो सुनिन्छ, कि धरानमा स्तरीय होटल भएन । तर, अब यो गुनासो धरानमा सुन्नु पर्ने छैन । किनभने, धरानमा २ तारे तर सेवा सुविधा र मापदण्ड तीन तारे(थ्री स्टार) सरह भएको करोडौ लागनीमा नयाँ होटल खुल्न लागेको छ ।

यही माघ २५ गतेदेखि धरान ८, भोटेपुलस्थित छ तले होटल गजुर प्यालेस सञ्चालनमा आउनेछ । धरान भित्रिने पर्यटकहरुलाई लक्षित गरेर यो होटल गोपालप्रसाद आचार्यले लगानी गरेर सञ्चालनमा ल्याउन लागेका हुन् । उनका अनुसार हालसम्म ८ करोड ४५ लाख लगानी होटलमा भइसकेकोछ । होटलमा तीन तारे सरहको सबै मापदण्ड पुरा भएपनि कोठाको संख्या मात्र नपुगेको कारण होटल २ तारे मात्र हुनेछ । तर, पाहुनाहरुलाई भने ३ तारे सरहकै सम्पुर्ण सेवा सुविधा उपलब्ध हुनेछ । ‘थ्री स्टारमा आवश्यक सबै मापदण्ड पुगेको छ, तर कोठाको संख्या मात्र कम भयो । त्यसैले होटल २ तारे हुन्छ, तर सबै सेवा सुविधाहरु तीन तारे होटलकै सरह हुनेछ,’आइतबार पत्रकार सम्मेलन गर्दै प्रोपाइटर आचार्यले भने ।

आचार्यका अनुसार तीन तारे होटल हुन ४५ वटा कोठा आवश्यक पर्छ । उनको होटल गजुर प्यालेसमा २८ वटा मात्र कोठा छन् । ‘कोठा संख्या मात्र नपुगेको हो, पर्यटन क्षेत्रमा केही गर्ने सोचका साथ लगानी गरेको हुँ, भविष्यमा बाँकी कोठा पनि थप्नेछुँ,’उनले भने । उनका अनुसार २८ वटा कोठामा एक रातमा ५४ जना पाहुना राख्न सक्ने क्षमता छ । होटलमा किंग सुइट रुम, प्रिमियम डिलक्स रुम, एक्सक्लुसिभ डिलक्स रुमलगायत ५ किसिमको सेवासुविधा भएको कोठाहरु छन् । जसको शुल्क न्युनतम ४ हजार ९ सयदेखि १९ हजार ९ सय रुपैयासम्म रहेको सञ्चालक आचार्यले जानकारी दिए । 

IMG_9621

होटल २ सय जनाको क्षमता भएको सेमीनार हल हुनेछ भने एकैपटक न्युनतम ४ सय जना अटाउने क्षमता भएको ब्यांकेट पार्टी हल पनि सुविधा हुनेछ । ‘रेष्टुरेष्ट ६५ जना सिटको छ, २२ बर्षको अनुवभ भएको सेफ र सबै अनुभवी टिम छ, भिआइपीहरुको लागि अलग्गै लाउञ्ज छ,’प्रोपाइटर आचार्यले भने,‘गाडी १५ वटा जति र ५० वटा मोटरसाइकल अट्ने क्षमताको पार्किङ पनि हुनेछ ।’ होटलमा अहिलेसम्म २७ जनाले होटलमा रोजगारी पाइसकेका छन् । आफुले १४ महिनाको सर्वे गरेपछि होटल सञ्चालनमा ल्याउन लागिएको प्रोपाइटर आचार्यको भनाई छ । ‘चुनौतीहरु थुप्रै छन्, सामना गरेर पर्यटनको क्षेत्रमा केही गछौ भनेरै लगानी गरेको हो,’उनले भने,‘पर्यटनको क्षेत्रमा केन्द्र र स्थानीय सरकारले पनि अझै धेरै लगानी गर्नुपर्ने देख्छु ।’

चाडै नै होटलअन्र्तगत नै ट्राभल एजेन्सी सञ्चालन गरेर टुर प्याकेज पनि चलाउने उनले बताए । पाहुनाहरुलाई विराटनगर एयरपोर्टदेखि धरान ल्याउन र फर्कदा पुनः विराटनगर एयरपोर्ट पुर्याउन होटलले आफ्नै यातायात सेवा पनि दिने उनले बताए । यस्तै, आफ्नै सफ्टवेयरमार्फत पाहुनालाई अनलाइनमार्फत होटल बुकिङको पनि सुविधा हुने उनले बताए । होटलकी चिफ अपरेटिङ अफिसर रञ्जना झाले सेवा, सुविधामा प्रदेश नं १ कै स्तरीय होटल बन्ने लक्ष्य राखिएको बताइन् । पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष राजेश विद्रोहीले धरानमा स्तरीय होटल सुविधा नभएको गुनासो अब हट्ने अपेक्षा व्यक्त गरे । यस्तै, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले पनि धरानका होटलहरुको सेवा र सुविधाको समस्यालाई होटल गजुरले पूर्ति गर्ने बताए ।

IMG_20190127_170822