ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकले पहिलो पृष्ठमा “निःशुल्क औषधि खुलेआम बिक्री” शीर्षकको समाचार छापेको छ । जिल्ला अस्पताल तेह्रथुममा नेपाल सरकारले निशुल्क वितरण गर्ने औषधि बिक्री हुने गरेको खुलासा भएको छ । म्याङ्लुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाम्फेको पहलमा अस्पतालको फार्मेसीबाट बिक्री भएको नेपाल सरकारद्धारा वितरीत निःशुल्क ओषधिको रकम फिर्ता गरिएपछि निशुल्क वितरण गर्नुपर्ने औषधि बिक्री हुने गरेको खुलासा भएको हो । निशुल्क वितरण गरीने औषधि बिक्री भएको गुनासो आएपछि नगरपालिकाका मेयर तुम्बाहाम्फे र अस्पताल विकास समितिका कार्यबाहक अध्यक्ष शुभभगत प्रधानाङ्गले अस्पताल प्रशासनमा पुगी निशुल्क औषधिको मूल्य फिर्ता गराएका हुन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “माउन्टेन फ्लाइट बन्द” शीर्षकको समाचार छापिएको छ । प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट सुरु भएको माउण्टेन फ्लाइट बन्द भएको छ । प्रत्येक साताको शनिबार हुदैँ आएको माउण्टेन फ्लाइट मौसमको कारण देखाउँदैँ १५ दिन अघि बन्द गरिएको हो । विराटनगरका पर्यटन तथा होटल व्यवसायीहरुले ‘विराट होलिडेज्’ नामबाट साताको प्रत्येक शनिबार पर्यटन प्रवद्र्धनका लागि भन्दै विराटनगरबाट माउण्टेन फ्लाइट गर्दै आएको थियो । मंसिरको पहिलो शनिबारदेखि माउण्टेन फ्लाइट शुरु भएको थियो । चारवटा उडान भरेपछि पुसदेखि खराव मौसमको कारण देखाउँदै उडान बन्द गरिएको हो ।

फास्ट : आजको फास्ट टाइम्स दैनिकमा “गोदममा आगलागी हुदाँ सवा करोड बढीको क्षति” शीर्षकको समाचार छापिएको छ । सुनसरीको कोशी गाउँपालिका १ लौकही बस्ने त्रिलोचन यादवको धान र पटवा गोदाममा आगलागी हुदाँ अन्दाजी १ करोड ३८ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ । आइतबार विहान सवा ९ बजे भएको आगलागीबाट यादवको १ तले पक्की भवनको गोदाममा राखेको अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरको ४ सय ५० क्विन्टल धान, अन्दाजी १ करोड २५ लाख ७० हजार मूल्य बराबरको ५ हजार मन सनपट र अन्दाजी ६० हजार मूल्य बराबरको आंशिक रुपमा घर जलेको छ ।

औजार : आजको औजार दैनिकको पहिलो पृष्ठमा “वडासचिव नभएपछि दैनिक कार्य सम्पादनमा सास्ती” शीर्षकको समाचार छापिएको छ । संघिय संरचनापछि बनेको स्थानीय सरकार आईसक्दा पनि अधिकांश स्थानीय तहका धेरै वडाहरु अझैपनि सचिव विहिन छन् । सेवा सुविधाको पछि लाग्ने कर्मचारीहरुको काज बहाना र मन्त्रालयले दुर्गम भेगमा कर्मचारी समायोजन गर्न नसक्दा भोजपुरका धेरैजसो वडाहरु स्थानीय सरकार आएको दुईवर्ष बितिसक्दा पनि सचिव विहीन छन् । प्रायजसोमा अरु शिक्षा, स्वास्थ्य, वन, खानेपानी लगायतका शाखाबाट कर्मचारी तानेर सचिवको काम धानिएको छ । वडाको दैनिक कार्यसम्पादनमा एक सचिव बराबर ४ देखि ६ वटा वडासम्मको कार्यभार छ । टेम्के मैयुङ् गाउँपालिकाको ६, ७, ८ र ९ वडाको काम केहि वर्ष अघिबाटै एउटै वडासचिवको भरमा काम चलिरहेको छ । दुर्गममा कर्मचारी नपठाउँदा दोहोरो कार्यभारको समस्या भएको वडा सचिव तोयाराज दुलालले सुनाए ।