तेह्रथुम: तेह्रथुमको म्याङलुङमा आगामी फागुन १८ गते १० किलोमिटर दौड प्रतियोगिता हुने भएको छ ।

तेह्रथुम समाज युकेको प्रायोजन तथा म्याङलुङ नगरपालिका, वडा नं. ६, ७ र ८ को व्यवस्थापनमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक सुनिल सम्बाहाम्फेले जानकारी दिए । गत बर्षबाट सुरु भएको प्रतियोगिता यो वर्ष भने खुला पुरुष, मिड भेट्रान्स र सिनियर भेट्रान्स तथा महिलातर्फ खुला र भेट्रान्स गरी पाँचवटा इभेण्ट हुने भएको छ ।

खुला पुरुष र महिलातर्फ १६ देखि ४० वर्ष उमेरका धावकहरु सहभागी हुन पाउनेछन् । जसमा प्रथम, द्धितीय र तृतीयलाई पुरुषतर्फ क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ तथा महिलातर्फ क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त प्रदान गरिने आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यस्तै पुरुष मिड भेट्रान्सतर्फ ४१ देखि ५५ वर्ष उमेर समुह र सिनियर भेट्रान्सतर्फ ५६ वर्षमाथिका धावकहरु सहभागी हुन पाउनेछन् । जसमा प्रथम, द्धितीय र तृतीय हुनेलाई मिड भेट्रान्सतर्फ क्रमशः १५ हजार, १० हजार र ५ हजार तथा सिनियर भेट्रान्सतर्फ १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्रदान गरिने म्याङलुङ नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले बताए ।

यस्तै ४१ वर्षमाथिका महिला धावकहरु सहभागी हुने महिला भेट्रान्सतर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दौड प्रतियोगिताकालागि सबै पुरस्कारहरु तेह्रथुम समाज युकेका तर्फबाट तिलविक्रम सम्बाहाम्फे, टिकासिंह सम्बाहाम्फे र लोकबहादुर सम्बाहाम्फेका तर्फबाट प्राप्त भएको जनाइएको छ । बाँकी व्यवस्थापन खर्च आयोजकले व्यवस्थापन गर्ने तयारी छ । प्रतियोगिता फागुन १८ गते विहान जिरिखिम्तीबाट म्याङलुङसम्म र पुनः म्याङलुङदेखि जिरिखिम्तीसम्म सन्चालन हुने जनाइएको छ ।

तस्बिरः धरानमा प्रत्येक शनिबार आयोजना हुने धरान रनमा दौडदै युवा तथा बालबालिकाहरु ।