धरान (डेस्क): मोरङको सुन्दर हरैचा नगरपालिका ९, विराटचोकस्थित सिसौघारीमा तीब्र गतिमा गुडेको ट्रिपरले ११ बर्षीय बालिका ठक्कर दिएर मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले हालसम्म ७ वटा ट्रिपर जलाएको प्रशासनले पुष्टि गरेको छ ।

मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार अहिलेसम्म ७ वटा ट्रिपर मात्र जलाइएको औपचारिक पुष्टि भएको छ । ‘ट्रिपर ७ वटा मात्र जलाइएको छ, हल्ला थुप्रैको भएपनि संख्या त्यति नै हो,’सहायक प्रजिअ पाण्डेले भने । आज बिहानै करिब ११ बजेत ना ३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करले बालिका लक्ष्मी ढकालको ज्यान गएको थियो । उक्त घटना पछि आक्रोशित स्थानीयले सो ट्रिपरसँगै अन्य ट्रिपरहरुमा पनि आगजनी गरेका थिए ।

मोरङका सहायक प्रजिअ पाण्डेका अनुसार घटनाको गम्भीरता एवं शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठक पनि बसेको छ । उक्त बैठकले सवा ११ बजेदेखिको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको पनि सहायक प्रजिअ पाण्डेले जानकारी दिए । ‘बैठक बसिरहेको छ, शान्ति सुरक्षा कायम गर्न निश्चित क्षेत्र निषेधित तोकिएको हो,’उनले भने,‘कफ्र्यु तत्काल लगाउने कुरा छैन, अवस्था हेरेर मात्र त्यो निर्णय हुन्छ ।’