इटहरी : साविक विजेता एवं उपाधिको प्रवल दाबेदार थ्री स्टारलाई स्तब्ध बनाउदै इटहरीमा जारी दोस्रो मदन भण्डारी गोल्डकपमा विभागित टिम त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरेको छ ।

इटहरी रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आर्मीले थ्री स्टारलाई टाइब्रेकरमा ३–१ ले स्तब्ध बनायो । निर्धारीत समयको खेलमा दुवै टिमबाट बराबरी १–१ गोल भएपछि खेल टाइब्रकेरबाट छिनोफानो भएको थियो । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको दुवै टिमले दोस्रो हाफमा  एक एक गोल गरे ।

दोस्रो हाफको १३ औ मिनेटमा आर्मीका भरत खवासले हेडमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाए । एक गोलले पछि परेपछि आक्रमक बनेको थ्री स्टारका अनन्त तामाङले खेलको २६ औं मिनेटमा बराबरी गोल गरे । निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि टाइब्रेकरमा आर्मीले बाजी मार्यो । ट्राइबेकरमा आर्मीका भरत खवास, सन्तोष तामाङ, विवेक बस्नेतले गोल गरे भने तिजेन्द्र कार्कीले बाहिर हाने भने दिप लामाको प्रहार थ्री स्टारका गोलकिपरले रोके ।

20190128_151320-(1)

थ्री स्टारका बिक्रम लामाले मात्र पेनाल्टी सुट आउटमा गोल गरे । रन्जित धिमाल, बुद्धराज लिम्बू र रुपेश केसीको प्रहारको आर्मीका गोल किपर बिकेश कुथुले रोके । खेलको म्यान अफ दि म्याच आर्मीका गोल किपर विकेश घोषित भए । उनले नगद दश हजारसहित मेडल प्राप्त गरे । थ्री स्टारका कोच उज्वल मानन्धरले निरन्तर खेलाडीहरुले प्रतियोगितामा सहभागी भएको कारण लयमा खेल्न नसकेको प्रतिक्रिया दिए ।

शनिबारबाट सुरु भएको प्रतियोगितामा भोली मंगलबार नेपाल पुलिस क्लब र भुटान सिएफसी बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा विजयी हुने टिमले नगद १६ लाख र उपविजेता हुने टीमले नगद ८ लाख सहित ट्रफि हात पार्नेछ ।