ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “विश्वकै दुर्लभ ‘मार्बल्ड’ पाँचथरमा” शीर्षकको समाचार छापिएको छ । विश्वमै दुर्लभ मानिने मार्बल्ड छिरबिरे बिरालो पाँचथरमा भेटिएको छ । जिल्लाको उत्तर–पूर्वी याङ्वरक–२ फलैँचास्थित दुई हजार ७ सय ५० मिटर उचाइको जङ्गलमा राखिएको क्यामेरा ट्रयापमा मार्बल्ड परेको हो । उक्त तथ्यले विश्व वन्यजन्तु संरक्षण र अध्ययनको क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताइएको छ । मेची पहाडका ताप्लेजुङ, पाँचथर र इलामका सामुदायिक र राष्ट्रिय वनहरुमा वन्यजन्तुबारे जानकारी संकलन गर्न राखिएको क्यामेरा ट्रयापमा दुर्लभ मार्बल्ड परेको बताइएको छ । एक सय सात स्थानमा राखिएका क्यामेरामा १७ प्रजातिका मझौला स्तनधारी जनावर परेका थिए । न्यूजिल्याण्डको लिङ्कन विश्वविद्यालय र नेपालस्थित रेडपाण्डा नेटवर्कका शोधकर्ताले मार्बल्डको तस्विर संकलन् गरेका हुन् ।

औजार : आजको औजार दैनिकमा “छोरी जन्माएको निहुमा घर निकाला” शीर्षकको समाचार छापिएको छ । सुनसरीको दुहवी नगरपालिका–२ की २२ वर्षीय रोशन खातुन छोरी जन्माएको कारणले घरबाट निकालिएकी छन् । तीन वर्ष अगाडि इटहर िउपमहानगरपालिका–१४ घर भएकी २२ वर्षीय रोशन खातुनको विवाह दुहवी २ का कुरमान मियाँसंग भएको र लगातार रुपमा २ छोरी जन्माएको भन्दै कुटपिट सहित शारीरीक र मानसिक यातना दिदैँ घरबाट निकाला गरिदिएको पीडितकी बुबा सलिम मियाँले बताए । छोरीको विवाहमा सम्दीले मागेको र ज्वाइले भनेको सबै कुरा नगद दिएको र विवाहपछि दाईजो भनेको सबै कम भएको भन्दै धम्की दिदैँ कुटपिट गरेकोमा अहिले आएर दुई छोरीछोरी मात्रै जन्माएको भनी रातभर लाठीले कुटेर निलडाम हुने गरी लखेटेर माघ –१२ गत्ते राती घर निकाला गरिदिएको पीडितले बताइन् । यसैगरी “सेवाग्राहीहरुले प्रत्येक शाखामा घुस खुवाउनुपर्ने बाध्यता” शीर्षकको समाचार पनि आजको औजारमा छापिएको छ । सुनसरीको सदरमुकाम इनरुवामा रहेको कार्यालयमा सेवाग्राहीहरुलाई प्रत्येक शाखामा घुस खुवाउनुपर्ने बाधयता अझैँ सम्म हटन सकेको छैन । लेखापढि व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुखदेखी कार्यालय सहयोगीसम्मले घुस खाइरहेको खुलेको हो । विभिन्न नगरपालिका र गाउँपालिकाबाट आएका सेवाग्राहीलाई दबाव र तनावमा राखेर कर्मचारीहरुले घुस खाने गरेको र तिर्न बाध्य पारेको स्वयम् लेखापढि व्यवसायिहरुले खुलासा गरेका छन् । मालपोतमा सबैभन्दा धेरै भ्रष्टाचार रहेको सरकारी संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारको अध्ययन अनुसन्धान गर्ने अन्तरराष्ट्रिय संस्था ट्रान्सपरेन्सि इन्टरनेशनल समेतले मालपोतमा भ्रष्ट्राचार देखाएकोमा सुनसरी मालपोतमा संस्थागत भ्रष्टा«चार र घुसखोरी बढेको फेला परेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेलीमा “ओझेलमा लिम्बुवान मुद्दा” शीर्षकको समाचार छापिएको छ । पूर्वका ९ जिल्लालाई लिम्बुवान दाबी गर्नेको मुद्दा ओझेलमा पर्दै गएको छ । पहिलो संविधानसभाताका पूर्वमा आन्दोलन उठाएका लिम्बुवानका धेरैजसो नेताहरु नै विभाजित बनेका छन् । कतिपयले पार्टि नै छाडे भने धेरैजसो ठुला समूहमा मिसिएका छन् । अस्तित्व नै जोगाउन संघर्षरत लिम्बुवानका पार्टिहरुले समेत यो मुद्दा बोक्न नसक्दा भने ओझेलमा परेको हो । विभाजित बनेका लिम्बुवान पार्टिहरुको एकता २२ महिनासम्म पनि टिक्न सकेन । संघीय लिम्बुवान पार्टि नेपालका केही नेताहरु संघीय समाजवादी फोरममा गए, वरिस्ठ नेता सञ्जुहाङ पालुंवा अहिले त्यही पार्टिमा भने छन् । अहिले कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान मञ्चबाट विष्णुमायाँ तुम्बाहाम्फे प्रदेशसभामा प्रतिनिधित्व गर्छिन् । चर्को रुपमा मुद्दा उठाए पनि आधार मानिएका ठाउँबाटै लिम्बुवानले सन्तोषजनक मत ल्याउन सकेन । लिम्बुवानलाई नजिकैबाट बुझेका एक विश्लेषक अनुसार लिम्बुवान पार्टिभित्रैको विवादले आन्दोलनले उचाई पाउन सकेन ।