धरान (डेस्क) : १ नम्बर प्रदेशको सोलुखुम्बु र मोरङ जिल्लामा सोमबार आगलागी हुँदा अन्दाजी ६२ लाख मूल्य बराबरको क्षति भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका २ बस्ने रेन्जि शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी ५७ लाख २ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलगीबाट शेर्पाको घरमा भाडामा लिएर बस्दै आईरहेका सोताङ् गाउँपालिका ४ बस्ने लाखमान तामाङको परिवार बस्दै आएका थिए । दिउँसो सवा १ बजे बिद्युतको मिटर बक्स सर्ट भएर आगलागी भएको थियो ।

आगलगीबाट घर सहित घर भित्र रहेको नगद १ लाख २० हजार, काठपात, अन्नपात, भाडावर्तन, लत्ताकपडा र ३ तोला चाँदी जलेर नष्ट भएको छ ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका ४ गछियामा कृष्ण ढकालको घरमा बस्ने खगेन्द्र बस्नेतले संचालन गरेको ईलेक्ट्रोनिक्स र हार्डवयर पसलमा आगलगी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

राती ११ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा पसलमा रहेको हार्डवेयर र इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको छ ।

उक्त आगलागी ईटहरी र सुन्दरहरैचा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरी चौकी गछियाले जनाएको छ ।